काम विशेषले तोयालाई फोन गरेको थिएँ शुक्रवार । उनले-‘सर हस्पिटलमा छु’ भने । फोन राखें । केहीबेरपछि तिनाउ-१, कचलका वडाध्यक्ष भुवानसिंह चिदीले फोन गरेर भने ‘सर हाम्रा ज्वाइँ अस्पतालमा भर्ना भएका छन् रे ! बुझ्दिनुस न अवस्था ।
फेरि तोयालाई खबर गरें । उनले आश गर्ने सास नरहेको भनेपछि मनमा भूकम्प गयो । सम्झें सुरज सोमैलाई । मैले दोभान माविमा पढाउँदाको विद्यार्थी थियो ऊ । खिसिक्क हाँस्थ्यो । गाली गर्दा नि चुप्प लाग्थ्यो । मन पर्दो विद्यार्थी थियो । शालीन, सभ्य र शिष्ट थियो ऊ । सर, मेडमहरुसँग कहिल्यै प्रतिवाद गरेन । कतिपय कुरा हाँसेर टार्थ्यो ।
मैले विद्यालय पढाउन छाडेपछि ऊ के गर्यो, कहाँ गयो, मलाई हेक्का भएन । गएको चुनाव बेलामा उसको जीपमा चढेर प्रचारमा हिँडेको आजजस्तै लाग्छ । ऊ चालक भएछ आफ्नै जीपको । विहे पनि गरेको रहेछ उसले, ओखलढुंगाबाट भुवानसिंह चिदीकी साइँली छोरी मनीषासँग ।
सुरज विदेश गयो रे ! भन्ने हल्ला थाहा पाउँदा नरमाईलो लागेको थियो । नपुग के थियो र उसलाई भन्ठानेको थिएँ । घरमै दुकान थियो । आफ्नै जीप थियो । फेरि, पछि थाहा पाएँ । सुरज विदेशबाट स्वास्थ्य समस्याका कारण आफ्नो गाउँ बुढासटक फर्क्यो रे ! खुसी भएँ । नवजवान युवा आफ्नै गाउँ फर्केकोमा खुसी नमान्ने कुरै भएन । तर उसलाई भेट्ने अन्तिम दुःखद् अवसर डोलको मसानघाट ब्रह्मनालमा भो ।
गाउँभरिका करिव ढाईसय जना मलामीहरु घाटमा थुप्रिएका थियौं । एक मिनेट मौनधारण गरेपछि लासमा फूल, पानी चढाएर अन्तिम श्रद्धाञ्जलि दिएपछि दागबत्ती दिने काम भयो । २८ वर्षीय नवजवान युवाको लास धूँवा बनेर आकासतिर उड्यो र लास नै खरानी बनेर दोभानखोलामा मिसियो ।
घाट जानू अघि अस्पतालबाट पोस्मार्टम गरि ल्याईएको लासलाई हेरेर परिवारजनमात्र होईन छिमेकी, ईष्टमित्र र आफन्तजन सबैका आँखामा कोसी र कर्णाली उर्लिए आँसुका । भक्कानिएर रुनेहरु थुप्रै थिए । मनीषाले सुरजलाई अन्तिम विदाई गर्दाको शब्द कति भावुक थियो ‘तिमीजहाँ गएपनि मलाई माया नमार्नू है !’
मलामीहरुसँग उनले अनुरोध गरेकी थिईन् । उसलाई मट्टीतेलले नजलाउनू है ! पोल्छ । आगनमा लासको वरिपरि घुमेर हेरें । सुरजका बाबा मदन दाइलाई देखिनँ । सुरजका सासु, ससुरा, सालीलाई मेरै आँखा अघि देखिरहें । कान्छी साली कौशिल्याले रुदैं भेना सुरजसँग अनेक बिन्ति गरे । तर सुनिदिने सुरजले भौतिक शरीर त्यागिसकेका थिए ।
मृत्यु अवश्यम्भावी हो तर अल्पायूमा भएको असामयिक निधनले सबैलाई पिरल्दो रहेछ । मन थामेर सबैका रुन्चे अनुहार यी कुरा लेखिरहँदा झल्झलि आँखामा नाँचिरहेका छन् ।
सुरजले संसार त्यागेर गएपनि उनकी जीवनसंगीनीले कसरी एक्लै जीवन गुजार्लिन् ? आमाबा र सासुससुराहरुले कसरी सुरजको अभाव मेटाउलान् ! उनका संगीसाथीहरुले कसरी सुरजलाई भूल्न सक्लान् र ? मन थाम्नै सकिनँ । आफ्नै अघि शिष्यको अकल्पनीय मृत्यु सहन सक्ने खुवी नै भएन । घाटबाट मलाई घर फर्किन मन लाग्यो छिट्टै ।
महिला, केटाकेटी र पाका मलामीहरुले घाट घेरिएको थियो । एकोहोरो दोभानखोला बगिरहेकै थियो । ढुङ्गाहरु सुरजका निर्जीव साथी बने । हामीभने आँखामा पिरका पर्खाल लगाएर पीडाकै पोखरीमा डुब्यौं । सन्तान खुसीका लागि भन्थे । आफ्नै अघि छोराको लास, कसरी सहे होलान् ? मनमा अनेक प्रश्न मडारिँदा मन बुझाउने उत्तर कसैले दिन नसक्ने रहेछन् यतिबेला !
म शिष्यको गहिरो शोकमा छु । सुरजको खिस्स हाँस्ने अनुहार मनमा अमीट बनेर आईरहेको छ । कसरी भूल्न सकुँला र उसलाई ? मनमा गाँठो पारेर यी शब्दहरु लेखिरहेको छु आँसुले ।
प्रतिक्रिया