ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि बिस्तारित थिएटरबाट शल्यक्रिया सेवा सुरु

आइतबार, ०७ पुस २०८१, १४ : ०९
700 Shares
आइतबार, ०७ पुस २०८१
700 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजागरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो । 

अस्पतालमा प्रसुतीले सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले प्रदेशमा मातृ–मृत्युदरलाई घटाउनका लागि बिस्तारित अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिए । प्रसुती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया सेवाको व्यवस्थाका लागि स्वास्थय मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गरे । अस्पतालमा सेवा बिस्तारका लागि ५० लाख रुपैयाँ बजेट व्यवस्था गरी अस्पतालमा रहेका उपकरणहरुको व्यवस्थापन तथा शल्यक्रिया कक्ष निर्माणमा सहयोग गरेको उनले जानकारी दिए । यसैगरी प्रदेशका अन्य अस्पतालहरुमा समेत स्वास्थ्य सेवालाई थप बिस्तार र गुणस्तर वृद्धिका लागि काम भैरहेको स्वास्थ्य सचिव डा. उपाध्यायले जानकारी दिए । 

अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले जानकारी दिए । यो सेवा बिस्तारसँगै अब हप्ताका साथै दिन प्रसुतीतर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने उनले उल्लेख गरे । सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । जनरल रुपमा २ वटा अपरेशन थिएटर रहेका छन् । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतीका लागि छुट्टै थिएटर बनेपछि यसअघि रहेको संरचनाबाट अन्य विरामीलाई सेवा प्रदान गर्दा शल्यक्रिया क्षमता सङ्ख्यात्मक हिसाबले ३३ प्रतिशतले वृद्धि हुने अस्पताल प्रमुख ढकालले जानकारी दिए । 

d3154ff2-fb8c-4dd4-b13f-37d3dd5dd931

विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब यसको सङ्ख्यामा ३३ प्रतिशतले वृद्धि हुँदा १२ हजार बढीको सङ्ख्यामा शल्यक्रिया गर्न सकिने छ । प्रयाप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल अपरेशन गर्नुपर्ने बिरामी बाहेक अन्यलाई महिनौंपछि आउनेगरी पालो लगाउनु पर्ने बाध्यतालाई कम गर्ने आफ्नो प्रतिवद्धता अनुसार बिस्तारको कामलाई प्राथमिकता दिइएको ढकालले बताए । 

अस्पतालमा स्थापना गरिएको अपरेशन थिएटरको औपचारिक उद्घाटन भने हुन बाँकी रहेको छ । आइतबारदेखि गरिएको सफ्ट ओपनीङका अवसरमा बोल्दै अस्पताल बिकास समिति सदस्य लक्ष्मी भट्टराईले सेवा बिस्तारसँगै मातृ र शिशुको जीवन थप सुरक्षित हुने अपेक्षा गरिन् । मातृ–शिशुको स्वास्थ्यका लागि थप गुणस्तर सेवा प्रदान गर्न सकिने बताउँदै उनले थप उपकरण, जनशक्ति व्यवस्था तथा संरचनाहरुका लागि अस्पताल बिकास समितिले पहल जारी राख्ने उल्लेख गरिन् । 

अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा  ९ हजार ७६५ वटा शल्यक्रिया मध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा बिस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । 

अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौं पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दाबी छ । अपरेशन थिएटर बिस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुने छ भने सोही अनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा ३ दिन पालो आउने छ । यसैगरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि २५ जना स्टाफनर्स थप भएका छन् । अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउनका लागि अस्पताल परिवालाई थप प्रतिवद्ध बनाउने गरी काम भइरहेको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।