बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारणसभा ४ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै लुम्बिनीकाे बुटवलमा शनिबार सम्पन्न भएको छ । सभाले साकोस अभियानलाई थप मर्यादित र व्यवस्थित गर्न ४ बुँदे साझा संकल्प प्रस्ताव समेत पारित गरेको हाे ।१६ वर्षपछि काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको नेफ्स्कूनको यस साधारणसभा बहुसरोकारवालाहरुको समेत सहभागितामा सभ्य, भव्य र साकोस अभियानलाई नयाँ उर्जा र दिशा दिर्ने संकल्प गर्दै सम्पन्न भएको हो ।
सदस्यहरुको सर्वोच्च निकायको भव्य र उल्लासपूर्ण सहभागिता भएको सभालाई अन्तिम निर्णयकर्ताहरुबाट संघका गतिविधि, रणनीति र क्रियाकलापहरु, आय, व्यय र प्रगति प्रतिवेदनहरु तथा प्रस्तावित कार्यक्रमहरु पारित गराउने मात्र नभई साकोस अभियानका असल अभ्यासहरु, चुनौतीहरु र सम्भावनाहरुबारे विज्ञ सहजीकरणमार्फत भावी रणनीतिक मार्गचित्र कोर्ने महत्वपूर्ण काम समेत दुई दिने सभाले गरेको छ । दुई दिने सभाको निचोड ४ बुँदे साझा संकल्पमार्फत अभिव्यक्त भएको छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको दोस्रो दिन सभाले संघको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम उपर सदस्यहरुको उत्साहपूर्ण एवम् सक्रिय सहभागितामा सघन छलफलसहित पारित गरेको छ । यसैगरी संघको गत आर्थिक वर्षको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि पनि यथेष्ट छलफलसहित पारित गरेको छ ।
सभामा संघका महासचिव घनश्याम अधिकारीले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष दिपक थापाले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराजज्योति पौडेलले लेसुसको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनहरुमाथि उत्साहपूर्वक सक्रिय सहभागी सदस्य संघ संस्थाका प्रतिनिधिहरुले सान्दर्भिक, मार्मिक र रचनात्मक राय, सल्लाह सुझाव व्यक्त गरेका थिए । प्रतिवेदनमाथिका जिज्ञासाहरुको सम्बोधन महासचिव, कोषाध्यक्षले गरेका थिए ।
प्रतिवेदन उपर छलफलमा सहभागी सदस्यहरुले वित्तीय सुशासनलाई केन्द्रमा राखेर सदस्य केन्द्रीत भई काम गर्न समितिलाई सुझाएको छ । भाखा नाघेको ऋण असुलीलाई तीब्रता, सञ्चालन प्रोफिट भन्दा सर्भिस मोटिभमा जोड, प्रारम्भिक संस्थाहरुको शसक्तीकरण रणनीति, सञ्जाल साझेदारीको प्रभावकारिता अभिवृद्धि, छुट्टै बचत ऋण सहकारी ऐन, कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण लगायत साकोस अभियानका मुद्दाहरुमा सघन बहसपैरवी, विकास साझेदार निकायहरुको खोजी तथा समन्वयमार्फत दूरदराजका सदस्य संघ संस्थाहरुको क्षमता विकास आदिकुरामा सुझाव राखीएकाे थियो ।
प्रत्युत्तरमा संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको गरिमामय लिगेसी कमजोर बनाउने गरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले इमानदारीपूर्ण मिहिनेत नतिजामा परिणत हुनुपर्ने धारणा सिङ्गो सञ्चालक समितिको रहेको भन्दै ‘इररलेस’ काम गरेको प्रतिवद्धता जाहेर गरे ।
ढकालले स्थिरीकरण कोषको कार्यविधि संशोधनमार्फत जोखिम सुपरिवेक्षणको काम सुरु गरिएको बताउदै ऋण असुलीमा निर्मम तरिकाले काम गरिएको बताउदैअझै निर्ममतापूर्वक जाने विश्वास दिलाए । उनले भने', अाफुहरू २२ जानाकै स्पिड बढेको छ र स्प्रिरिट पनि मिलेको छबताए। सभामा सहभागी संघका सल्लाहकारहरुले समेत सुझाव र मार्गदर्शन राख्दै अभियान एक ढिक्का भएर सहकारीप्रतिको छवि सुधारमा जुट्नुपर्ने बताए ।
सभामा संघका बरिष्ठ उपाध्यक्ष एवम् ३३औं वार्षिक साधारणसभा आयोजना व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीले प्रस्तुत गरेकाे संकल्प प्रस्तावउपर सदस्य प्रतिनिधिहरुले ध्वनिमतका साथ ऐक्यबद्धता जाहेर गरेका थिए।
सभामा बाेल्दै संघकी उपाध्यक्ष शान्ती अधिकारीले ३३औं वार्षिक साधारणसभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन्। केही आशंका र संशयबीच साधारणसभा उल्लेख्य सहभागितामा सम्पन्न भएकोमा उनले प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ उर्जा र जोशका साथ सहकारी अभियानको श्रीवृद्धिमा लाग्न आग्रह गरीन।
उनले भनीन, ‘यो उपस्थिति साँच्चिकै गौरवमय भयो, बन्द सत्रको सहभागिता पनि उल्लेख्य रह्यो । लुम्बिनी प्रदेशमा आयोजना भएको यो सभालाई भव्यरुपमा सफल बनाउन सहयोग गर्ने खासगरी यो प्रदेशको सिङ्गो सहकारी अभियान, स्थानीय सरकारहरु तथा सरोकारवालाहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।’
सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीय तह, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । सभाको उद्घाटन हिजो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुभएको थियो ।
प्रतिक्रिया