ताजा अपडेट »

बुटवल मेलामा पशुपतिसँगै झुमे दर्शक, गुञ्जियो 'देश लुट्न पाइँदैन' नारा

शनिबार, ०६ पुस २०८१, १९ : १९
2.67K Shares
शनिबार, ०६ पुस २०८१
2.67K Shares

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा शनिबार चर्चित गायक पशुपति शर्मासँगै दर्शक झुमेका छन् । पशुपतिको प्रस्तुती पर्खेर बसेका हजारौं दर्शक उनी स्टेज चढेसँगै हुटिङले मेलास्थल गुञ्जिएको थियो ।

आफ्ना दर्जनौं लोक दोहोरीका चुट्का सुनाउँदै "मलाई अमेरिका यहीँ..." भन्ने भाकाबाट दर्शक नचाउन सुरु गरेका उनले आधा दर्जन लोक दोहोरी भाकाबाट करिब एक घण्टा दर्शक नचाएका थिए । प्रस्तुतीको बिच-बिचमा ठट्यौंली चुट्का भरेर माहोल तताएका उनले सामाजिक विषय मात्र होइन राजनीतिक विषय र नेताहरुलाई समेत तीखो ब्याङ्ग्या गरे । आफूले गाएको गीत 'लुट्न सके लुट कान्छा, नेपालमै छ छुट...।' भन्ने भाकाका केही टुक्का सुनाउँदै दर्शकको साथमा "देश लुट्न पाइँदैन"को नारा समेत लगाउन भ्याए ।

'क्यार्न माया मारिछेउ सानीले...।', 'सारङ्गी र्याई, र्याई तिरी मीरी झ्याई...।', स्याङ्जा जाने बाटैमा तनहु...।' तथा बैमानी त पैसा रै'छ...'लगायतका आधा दर्जन गीत गाएका थिए । यस बीचमा गायिका तथा उद्घोषिका उमादेवी खनालसँग गाएका दोहोरी चुट्काले दर्शकलाई थप मनोरञ्जन दिए । पशुपतिको प्रस्तुती सकिएसँगै दर्शकबाट भने "वान्स मोर.." को गुञ्जायस लामै समयसम्म रोकिएको थिएन ।

मेलामा शनिबार साँस्कृतिक कार्यक्रम अन्तरगत लोक भजन चुट्का प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेको साँस्कृतिक उप-समितिका संयोजक निर्मित कसजुले जानकारी दिए । यसैगरी स्थानीय कलाकार तथा ब्यान्डले साँस्कृतिक प्रस्तुती दिएको सह संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आइतबार हुने कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज र पशुपति शर्माको प्रस्तुती रहने सह-संयोजक दिपक कार्कीले जानकारी दिए । यसैगरी अन्तर विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, लोक भजन चुट्का प्रतियोगिता तथा भ्वाइस अफ बुटवलमा उत्कृष्ट १० प्रतियोगीहरुको प्रतिस्पर्धा सुरु हुने उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा शनिबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।