ताजा अपडेट »
सन्दर्भ : विश्व ध्यान दिवस

बुटवलको मेला भित्र ब्युटी फेयर : यसरी दिइन्छ ‘ध्यान’ शिक्षा

शनिबार, ०६ पुस २०८१, ०९ : ४४
158 Shares
शनिबार, ०६ पुस २०८१
158 Shares

बुटवल । पछिल्ला दिनमा जीवनशैली परिवर्तनका कारण डिप्रेसन, मधुमेह, मुटु रोग, क्यान्सर, मोटोपन, बाँझोपन जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोग बढ्दै गइरहेका छन् । यी सबै रोगको कारण शरीरका कोषहरू खिइँदै जाने, डीएनए खराब हुने र छिटो बूढो हुने भएकाले हो । हाम्रो सौन्दर्यताका लागि पनि ध्यान अर्थात मेडिटेशन आवश्यक रहेको यस सौन्दर्यकला क्षेत्रमा लागेका व्यक्तिहरुले बताउने गरेका छन् । 

यसै बीच बुटवलमा जारी औद्योगिक व्यापार मेलामा छुट्टै पेभेलियन बनाएर आयोजना गरिएको ब्युटी फेयरलमा मानिसहरुलाई ध्यान कला बारे जानकारी गराउँदै आइएको छ । काठमाडौं उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको ब्यूटी फेयरमा सौन्दर्य कलामा लागेका महिलाहरुका उद्यम तथा अन्य महिला उद्यमीहरुलाई समेत जोडेर १६ वटा स्टलमा उनीहरुको उत्पादनहरु राखिएका छन् ।  

मेला घुम्न आउने दर्शकलाई मनोरञ्जनसँगै जीवन जिउने कला र ध्यान बारे जानकारी गराउँदै आइएको ब्युटी फेयरकी संयोजक रेनु श्रेष्ठले बताइन् । व्यस्त जीवनशैलीका बीच मानिसले आफ्नो शरिरका लागि ध्यान दिन नसक्दा सौन्दर्यता गुमाउने मात्र नभई जीवनका अन्य उद्देश्यहरु समेत प्राप्त गर्न समस्या हुने उनले बताइन् । मेलास्थलमा शान्त स्थानको व्यवस्था गरी ध्यान बारेको ब्यवहारिक ज्ञान दिन एक पटकमा १० जनासम्मलाई करिब ५ मिनेट ध्यान कार्यमा सहभागी गराउने गरिएको उनले जानकारी दिइन् । 

यस बाहेक ‘मेला भित्रको मेला’को रुपमा लिइएको ब्युटी फेयरमा निःशुल्क परामर्श, महिला उद्यमीलाई प्रवर्द्धन, हस्तकलाका सामग्रीहरु बिक्री लगायतका स्टलहरु राखिएको महिला उद्यमी तथा ब्युटी फेयर संयोजक श्रेष्ठले जानकारी दिइन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुसको ३ देखि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिरहेको औद्योगिक व्यापार मेला भित्र सञ्चालन गरिने ब्युटी फेयरको माध्यमबाट थप महिलाहरुलाई उद्यमी बनाउने उद्देश्य रहेको उनले बताइन् । 

यस पेभेलियन अन्तरगत स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञले परामर्श समेत प्रदान गर्दै आएका छन् । यहाँ छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।