ताजा अपडेट »

‘रुपन्देहीमा स्थानीय पाठ्यक्रममा एकरुपता हुन आवश्यक, अगुवाई बुटवलको’

विहीबार, ०४ पुस २०८१, १३ : ५४
220 Shares
विहीबार, ०४ पुस २०८१
220 Shares

बुटवल । रुपन्देहीमा स्थानीय पाठ्यक्रममा एकरुपता हुनु पर्ने र त्यसको अगुवाई बुटवल उपमहानगरपालिकाले लिनु पर्ने एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन् ।  सामाजिक परिवर्तन केन्द्र र अभिभावक संघ नेपालको आयोजनामा विहीबार बुटवलमा आयोजित स्थानीय पाठ्यक्रमको आवश्यकता र औचित्य विषयक संवादमा बोल्ने अधिकांश वक्ताहरुले सो कुरा बताएका हुन् ।  

साथै उनीहरुले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको जिम्मा लिनेहरुका विचमा समन्वय र सहकार्य अनिर्वाय रुपमा हुनुपर्ने बताए । पाठ्यक्रम निर्माण समिति बनाउँदा स्थानीय बिज्ञताको आधारमा बनाउनु पर्नेमा उनीहरुको सुझाव रहेको छ । 

सरोकारवालाहरुले स्थानीय पाठ्यक्रम सिप, उद्यमशिलता र नैतिक शिक्षामा आधारित हुनुपर्ने, शिक्षक निर्देशिका बनाउनु पर्ने, अनुगमन र परिर्माजन हुनु पर्ने, इतिहासदेखि वर्तमानसम्मलाई स्थानीय पाठ्यक्रममा समेट्नु पर्नेमा कुरामा जोड दिएका छन् । उनीहरुले बुटवल उपमहानगरपालिकाले निर्माण गरेको पुस्तकमा धेरै त्रुटि रहेकाले त्यसलाई तत्काल परिमार्जन गर्नुपर्ने समेत बताएका छन् ।  

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि आर्यालले पाठ्यक्रम र पाठ्यपुस्तकमा रहेका कमिकमजोरीहरुलाई सुधार गर्न उपमहानगरपालिका तयार रहेको बताइन् ।  पहिलो पटक निर्माण गर्दा पुस्तकमा केही कमजोरी र त्रुटि हुनुलाई सकारात्मक रुपमा नै लिनु पर्ने बताइन् । 

उपप्रमुख अर्यालले अबको नयाँ शैक्षिक सत्रसम्ममा स्थानीय पाठ्यपुस्तकमा छुटेका विषयहरु विज्ञहरुको राय, सल्लाह र सुझावका आधारमा थप गर्ने गरी उपमहानगरपालिका लागेको बताइन् ।  पाठ्यक्रम निर्माण समितिका संयोजक बुद्धि सागर भट्टराईले पाठ्यक्रम ग्रन्थ, गिता तथा बाइबल जस्तो नभएकाले आवश्यकता अनुसार त्यसलाई संशोधन र परिमार्जन गर्दै जानु पर्ने बताए । उनले सकेसम्म जिल्ला भरीका विषयहरुलाई समेटेर पुस्तकको निर्माण गर्दा राम्रो हुने बताए । 

पुस्तक लेखन समितिका संयोजक डा.नारायणप्रसाद पन्थले काम गर्ने क्रममा केही त्रुटि हुनु स्वाभाविक भएको बताउँदै निर्माण भएकाले कुरालाई उपलब्धिको रुपमा लिनु पर्ने बताए । पुस्तकमा भएका त्रुटिहरुलाई परिर्माजन गर्ने र आवश्यक भएका कुरालाई थप गर्दै जानु पर्ने कुरामा जोड दिए ।  पुस्तकका लेखक तथा कान्ती माविका प्राचार्य गोविन्द ज्ञवालीले सुरुवाती चरणमा पुस्तकमा  कमजोरीहरु भएकाले त्यसलाई सुधार गर्दै जानु पर्ने बताए ।

एनव्याव्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रिया नै गलत हुँदा पुस्तकमा धेरै कमजोरी देखिएको बताए ।  पुस्तक निर्माणको लागि टेन्डरको माध्यमबाट गर्दा देवदहको पुस्तक पाल्पाका विज्ञहरुले निर्माण गरेकाले धेरै कुरा छुटेको बताए । 

प्याव्सनका केन्द्रीय सदस्य लेखनाथ पौडेलले बुटवलले पाठ्यपुस्तकमा जसरी विषय उठान गर्नुपर्ने हो त्यसरी नभएको बताउदै सुरुवात गर्ने कुरालाई सकारात्मक रुपमा नै लिनु पर्ने बताए । साथै उनले रुपन्देही जिल्ला भरकै एकीकृत रुपमा पुस्तक निर्माण गर्दा राम्रो हुने धारणा राखे । 

एनप्याव्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बाबुराम बन्जाडेले पनि जिल्ला भरकै एउटा स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने र साझा गर्ने विषयलाई साझा बनाउनु पर्ने धारण राखे ।  प्याव्सनका बुटवल अध्यक्ष मित्रहरि आचार्यले सकेसम्म जिल्ला भरकै एकीकृत पाठ्यपुस्तक बनाउन तत्काल सम्भव नभएता पनि छिमेकी पालिकालाई समेटेर पुस्तक बनाउनु पर्ने धारणा राखे । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायी महासंघका निवर्तमान केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले स्थानीय पाठ्यक्रमले स्थानीय सिपलाई प्रर्बधन गर्नुपर्नेमा त्यसो हुन नसकिरहेको बताउदै व्यबहारिक ज्ञान दिन पाठ्यक्रम सफल नभएको बताए । 

शिक्षक महासंघ बुटवलका अध्यक्ष उपेन्द्र ज्ञवालीले पुस्तकमा थप गर्नुपर्ने विषयहरु थप गर्नका लागि स्थानीय तहले विलम्ब गर्न नहुने बताए ।  नविन औद्योगिक माविका प्राचार्य प्रेमबहादुर बस्नेतले बुटवलले. बनाएको पुस्तकमा धेरै कमजोरी हुँदा कार्यान्वयनमा समेत समस्या देखिएको बताए । साथै पुस्तक निर्माण गर्दा वैज्ञानिक पक्षलाई पनि समावेश गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा कालिका मानवज्ञान माध्यमिक बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष भरत अर्याल, अनेरास्ववियू क्रान्तिकारी जिल्ला अध्यक्ष टिकाराम आचार्यले पनि पुस्तकमा देखिएका कमजोरीहरुले सुधार गर्दै जानु पर्ने बताएका थिए । 

साथै उनीहरुले बुटवलमा अध्ययन गर्न छिमेकी पालिकाहरुबाट पनि आउने भएकाले सकेसम्म जिल्ला भर नभएर छिमेकी पालिकालाई समेत समेटेर पाठ्यपुस्तक बनाउँदा राम्रो हुने बताए ।  सहभागिहरुको धारणा पछि बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले बुटवल उपमहानगरपालिकाले देशभरमा नै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरेको बताए । 

पहिलो प्रयासमा केही कमजोरी देखिएको भन्दै त्यसलाई उपमहानगरपालिकाले सुधार गर्दै लैजाने बताए । पुस्तकको संशोधन गर्नका लागि आवश्यक प्रक्रिया उपमहानगरपालिकाले अघि बढाएको बताउँदै सबै सुझावहरुलाई समेटेर नै परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अभिभावक संघ लुम्बिनीका अध्यक्ष हेम थापाले संवाद कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै स्थानीय पाठ्यक्रमको उद्धेश्य नै साँगुरो भएकाले त्यसलाई बृहत बनाउन आवश्यक रहेको बताएका थिए ।  जिल्ला भरको एकीकृत पाठ्यक्रम निर्माण गरी साझा विषयमा साझा र साझा नहुने विषयलाई  ऐच्छिक विषयको रुपमा समावेश गर्नुपर्ने बताए । 

पत्रकार भवानीप्रसाद पाण्डेले संवाद कार्यक्रममा उठान भएका विषयबस्तुहरुलाई बुटवल उपमहानगरपालिकाले सम्पतिको रुपमा ग्रहण गर्दै पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजानु आवश्यक रहेको बताए । 

कार्यक्रम अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त संवाद कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, व्यवस्थापन समिति अध्यक्ष, शिक्षासँग सरोकार राख्ने व्यक्तिहरुको सहभागिता रहेको थिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।