त्रिवेणी । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दशकौँदेखिको सडक समस्या समाधान भएसँगै अन्य गतिविधि पनि बढ्न थालेको बताए । “गाउँपालिकाले दुम्किबास–डाँडाजोर–सिदे्र हुँदै कोल्टाडीसम्मको करिब १४ किलोमिटर सडक कालोपत्र गरेको छ । दशकौँदेखि निर्माण हुन नसकेको सडक हामी आएसँगै चुनावी प्रतिबद्धताअनुसार सम्पन्न भएको छ । हाल एक छिनमा सरर सर्दी पुग्न सकिन्छ”, उनले भने ।
पालिकाका इन्जिनियर शम्भु केसीले करिब रु १७ करोडको लागतमा सडक स्तरोन्नति गरिएको बताए । यसले स्थानीयको जनजीवन सहज बन्नुका साथै अन्य गतिविधिमा पनि बढोत्तरी भएको उनको भनाइ छ । स्थानीय विष्णुमाया भुजेलले सडक बनेसँगै वर्षौदेखिको समस्याबाट मुक्ति पाइएको बताए । “पहिला घण्टौँ लगाएर हिँडेर जानुपर्ने बाध्यता थियो, विरामी पर्दा, कतिपय अवस्थामा सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटो मै ज्यान जान्थ्यो, अहिले त बाटोले धेरै सुविधा भएको छ । बाटो बनेसँगै कष्टपूर्ण यात्रा गरी राजमार्गसम्म पुग्नुपर्ने दुःख हटेको छ”, उनले भने ।
यस सडकले विनयी त्रिवेणी वडा नं १, २, ३, ४ र ५ का बासिन्दालाई सहजता भएको छ । मुख्यगरी वडा नं ३, ४ र ५ का बासिन्दालाई सहज रूपमा दुम्किबास आउन सुविधा पुगेको छ । सडक कालोपत्र भएसँगै सर्दी–दुम्किबासको यात्रा करिब २० मिनेटमै तय हुने गरेको छ । गाउँपालिका अध्यक्ष गिरीले सडक विकासका अन्ग गतिविधिको पनि मुख्य आधार भएकाले पालिकाले प्राथमिकताका साथ निर्माणसम्पन्न गरेको बताए । “पालिकाको महत्वपूर्ण सङ्कल्प पूरा भएको र क्रमशः सबै वडालाई राजमार्ग र पालिकासँग सहज रूपमा सुविधायुक्त सडकले जोड्ने योजना छ । त्यसमा काम गरिरहेका छौँ”, उनको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले दुम्किबास–सर्दी सडक कालोपत्र भएसँगै सर्दी क्षेत्रबाट राजमार्ग पुग्न सहजता थपेको र यहाँको कष्टकर जनजीवन सामान्य बन्दै गएको बताए । यस कार्यले सडकमा पर्ने करिब तीन दर्जन गाउँका स्थानीयलाई यात्रा र आफ्ना कृषिउपजको बजारीकरणमा पनि टेवा पुगेको उनले बताए । विनयी त्रिवेणीसँगै पूर्वी पाल्पाका बासिन्दालाई समेत यस सडकले सुविधा थपेको उपाध्यक्ष वैदवारको भनाइ छ ।
प्रतिक्रिया