ताजा अपडेट »

लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान, ८ बुँदे कार्यविधि तयार

विहीबार, ०४ पुस २०८१, ०६ : ५६
112 Shares
विहीबार, ०४ पुस २०८१
112 Shares

लुम्बिनी । विगत लामो समयदेखि लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको समेत संलग्नतामा होटल र विहारका विषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि तयार भएपछि उत्पन्न विवाद र असमझदारी अन्त्य भएको हो । 

बुधबार लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा सहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरुको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई होटलमा जस्तै सुविधा दिएर राखेको जस्ता विषयलाई लिएर लामो समयदेखि विवाद सृजना हुँदै आएको थियो । होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकरात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा ८ बुँदे सहमति गर्दै लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।

कार्यविधि कार्यन्वयनका सम्बन्धमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटल व्यवसायीविचको असमझदारीलाई कार्यविधि बनाएर हल गर्नु निकै सकरात्मक भएको बताए । उनले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकरुलाई आर्कषित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीमा सरसफाईको समस्या जटिल भएकाले यसतर्फ ध्यान दिएर कार्य गर्न सुझाव दिए ।

दुई पक्ष बीचमा भएको सहमती पूर्ण रुपमा कार्यान्वयन गर्न  लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन् । उनले आफू लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउन दिनरात खटिएको बताउँदै लामो समयदेखि होटल व्यवसायी र गुम्बाविहार विचको द्वन्द अन्त्य गर्न सफल भएको बताए । 

उनले विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको बताए । उनले लुम्बिनी विकास कोष सहित होटल व्यवसायी र गुम्बाविहारका प्रतिनिधिहरुविचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने बताए । 

उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरुलाई आर्कषित गर्न सक्नुपर्ने बताउँदै गुम्बा विहार र होटलको समस्या एकैठाउँमा बसेपछि समाधान भएको बताए । उनले अब आध्यात्मिक वातावरण बनाउनका लागि सबैले हातेमालो गर्नेबेला आएको बताए । भिक्षु, लामा गुरुहरु लुम्बिनी आउन पाउँदा निकै खुशी हुने बताउँदै उपाध्यक्ष डा। लामाले सामान्य विवादले पनि अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश जाने भएकाले सबै सचेत हुनुपर्ने बताए ।

यस्तै लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बाविहार र होटल व्यवसायीविच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह समेत गरे । 

कार्यविधिले गुम्बाविहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्ने र होटल व्यवसायीहरुले समेत गुम्बाविहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।