ताजा अपडेट »

थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु

मंगलबार, ०२ पुस २०८१, १३ : ३५
20 Shares
मंगलबार, ०२ पुस २०८१
20 Shares

दमौली । यहाँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ । १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए । गत सोमबारदेखि अस्पतालमा दन्त शिविर सुरु भएको छ ।

दाँतका समस्या भएका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले दन्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । दन्त शिविरमा दाँतको एक्सरे, सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरैदेखिको उपचार, गिजाको उपचार तथा औषधि वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैह्रापाटन पोखराबीच गत मङ्सिर २० गते भएको सम्झौता अनुसार दन्त शिविर सञ्चालन गरिएको हो । शिविर पुस ४ गतेसम्म सञ्चालन हुनेछ । शिविरको पहिलो दिन सोमबार वडा नम्बर १ र २, मङ्गलबार वडा नम्बर ३ र ४, बुधबार वडा नम्बर ५ र ६, बिहीबार वडा नम्बर ७ र शुक्रबार छुटेका सर्वसाधारणलाई सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । 

एक दिनमा ६० जनालाई उपचार सेवा दिइने जनाइएको छ । प्रत्येक स्थानीय तहमा एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको निर्णय बमोजिम यहाँ उक्त अस्पताल निर्माण भएको हो । रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ लागतमा अस्पताल भवन निर्माण भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।