काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहलाई प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्मरण गरिएको छ । नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सामीप्यमा रही नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि योगदान दिएका सिंहले सत्य, निष्ठा र इमान्दारको प्रतीकका रूपमा आफ्नो छवि बनाएकाे उनका सहकर्मीले प्रतिक्रिया दिए छन् ।
समाजसेवी हितकरवीरसिंह कंसाकारले हरेक नागरिकदेखि माथिल्लो ओहदामा रहने सबैलाई समान व्यवहार गर्ने सिंह प्रजातन्त्रप्रति अडिग र ज्यादै इमान्दार नेता थिए ।
मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी भई उनले विसं २०४९ मा तत्कालीन काठमाडाेेँ नगरपालिका प्रमुखको जिम्मेवारी समालेका थिए । कंसाकारले भने, “पिएलजी गणेशमानसिंह र मङ्गलादेवीको सामीप्यमा रही राजनीतिक सहयोगीका रूपमा लामो समय काम गरे, प्रजातन्त्रवादी योद्धा पिएलले काठमाडौं नगरपालिकालाई विश्वमा चिनाउन धेरै महत्वपूर्ण कामसमेत गरेका छन् ।”
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंबाट विजयी भएपछि वातावरणमन्त्री बनेका सिंहले त्यसअघि नै काठमाडौंलाई स्वच्छ, सफा र हराभराको नारा दिएर काम गरेका थिए । उनका पिता स्वास्थ्यकर्मी चन्द्रमान सिंहसमेत तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध र प्रजातन्त्रका पक्षमा लामो समयसम्म संलग्न भई काम गरेका थिए ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रप्रति प्रतिबद्ध सिंहले विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनका बेला कुशलतापूर्वक पार्टी प्रवक्ताको जिम्मेवारी समालेका स्मरण गरे । उनले भने, “गणेशमानजीको राजनीतिक सहयोगीका रूपमा पिएलले काम गरे ।
उनि समाजमा सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ भन्थे । स्वच्छ, सफा र हराभरा काठमाडौं अभियान उनले सुरु गरे । उनि प्रजातन्त्रप्रति निष्ठावान् र अडिग व्यक्ति थिए ।”
काठमाडौं ताम्सिपाखामा विसं १९९६ चैत ११ गते जन्मनुभएका पिएलको अन्त्येष्टि त्यही नजिक लखुतीर्थमा गरिँदैछ । उनि अविवाहित थिए ।
प्रतिक्रिया