ताजा अपडेट »

फेसबुक र युट्युब हेर्नै नसकिने हुन्छन् : प्रधानमन्त्री ओली

आइतबार, ३० मंसिर २०८१, १५ : ४३
96 Shares
आइतबार, ३० मंसिर २०८१
96 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेकाले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको प्रस्टीकरण दिएका छन् ।  आइतबार २१ औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा भइरहेका अस्थिरताको अन्त्यको पक्षमा रहेको दाबी समेत गरे । 

‘यो सरकार सरकार, सरकार बनाउन होइन देशका समस्या र अस्थिरता समाप्त पार्न तथा विकृतिबाट मुक्त गर्न बनेको हो’, प्रधानमन्त्री ओलीको भनाइ  छ ।  उनले कतिपय शक्तिहरू नेपाललाई भाँड्न सामाजिक सदभाव बिथोल्न र अराजकता निम्त्याउन लागि परेको भन्दै त्यसरी समृद्ध नेपाल बन्न नसक्ने बताए । 

‘सबै मिलेर मात्र नेपाल बन्छ । हामी सामाजिक सदभाव र न्यायका कुरा गर्छौ’, उनले भने, ‘भाँडभैलो ल्याउने होइन ।’ उनले दुर्गा प्रसाईंलाई सङ्केत गर्दै कतिपयले वैंकको ऋण नतिर्न उर्दी जारी गर्ने गरेको भन्दै बैङ्कको ऋण लिने अनि नतिर्ने भनेर उर्दी जारी गर्नु अराजकता भएको बताए । 

उनले देशलाई धनी र सम्पन्न बनाउनै पर्ने भन्दै दुःखबाट मुक्त गरेर तमाम नेपालीलाई सुखी बनाउनेतर्फ सरकारको ध्यान गएको बताए ।  ‘हाम्रा छोरा नातिहरूले यस्तै खालको गरिबी भोग्न नपरोस् भनेर सरकार लागेको छ’, उनले भने,  ‘यसमा सबै जातजाति, भाषाभाषी र सबै नेपाली एक भएर लाग्नुपर्छ ।’

सभ्य समाजमा अराजकता मौलाउन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘फेसबुक, युट्युब हेर्‍यो सुन्नै र हेर्नै नसकिने हुन्छ’, ओलीले भने, ‘एकले अर्कोलाई शत्रु होइन, मित्र देख्ने गर्नुपर्छ ।’ फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका मुद्दामा विलम्ब गर्नु नहुने समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।