ताजा अपडेट »

ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

आइतबार, ३० मंसिर २०८१, १२ : ४२
56 Shares
आइतबार, ३० मंसिर २०८१
56 Shares

सिरहा। जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । 

शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए ।

साहले पसल बन्द गरी घर गएको बेलामा  ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए । 

भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको रु दुई लाख रिचार्ज कार्ड, नगद रु पचास हजार गरी रु पाँच लाख ५५ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए ।

उनका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।