फागुन ५,
ग्लोबल आवाज
तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका–१ झिगामारामा अवस्थित सरस्वति आधारभूत विद्यालयले स्वर्ण महोत्सवका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको छ । गएको माघ २९ गतेदेखि सताव्यापी रुपमा विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आए पनि विशेष कारण देखाउँदै सबै कार्यक्रम स्थगित गरेको हो ।
आगामी फागुन ७ गते स्वर्ण महोत्सवको मूल समारोह आयोजना गर्ने भनि कार्यक्रम तय गरिएको भए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सवारी दुर्घटनामा परी घाईते भएका कारण सबै कार्यक्रम स्थगित गरिएको विद्यालयले जानकारी गराएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि स्वर्ण महोत्सवका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको अभिभावक संघका अध्यक्ष अम्मर बहादुर तरामुले जानकारी दिए । सोमबार विद्यालयको स्वर्ण महोत्सव तयारीका लागि रुपन्देहीको भैरहवाबाट बुटवल आउँदै गर्दा सवारी दुर्घटनामा परेका खड्कासहित विद्यालयका अभिभावक कमल प्रसाद पोखरेलको क्रिमसन अस्पताल तिलोत्तमामा उपचार भैरहेको छ ।
वि.स.२०२७ सालमा स्थापना भएको यस विद्यालयले पूर्व निर्धारित योजना अनुसार फागुन ७ गते स्वर्ण महोत्सव मनाउने तयारी गरे पनि असामायिक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक धातानन्द ज्ञवालीले सबै कार्यक्रम स्थगित गर्नुपरेको जानकारी गराए । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले विद्यालयको अन्य शैक्षिक गतिविधी भने नियमित रुपमा सञ्चालन गरिने बताए ।
प्रतिक्रिया