ताजा अपडेट »

जनकपुर विरुद्ध चितवनको जित दर्ता, प्लेअफमा पुग्ने सम्भावना बढ्यो

शनिबार, २९ मंसिर २०८१, १६ : ४७
180 Shares
शनिबार, २९ मंसिर २०८१
180 Shares

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले हराएको छ । शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो ।

चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हँुदै १ सय ४८ रन मात्र बनाउन सक्यो । जनकपुका लागि जिमी निशमले सर्वाधिक ६५ रन बनाए । उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । प्रतियोगिताको पहिलो अर्धशतक निशमले १८ बलमा पूरा गरेका थिए । प्रतियोगितामा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए ।

आसिफ शेख २३ रन बनाउँदै अमरसिंह राउटेलाको बलमा आउट भए । शुभल कंसाकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए । बासिल हमिदले १४औं ओभरमा २४ रन खर्चिएपछि खेल जनकपुरको पक्षमा गएको थियो । तर, १५ औं ओभरमा सोहल तन्भिरले जिमी निशमसहित २ विकेट लिएपछि जनकपुर हार तर्फ पुग्यो ।

चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए । त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडेका थिए । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।

प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ । अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।

चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल अघिनै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।