बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज शुक्रवार पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ।
कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । यस खेलमा जित निकाल्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ । पहिलो संस्करणको एनपिएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।
आज दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । ५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउँने लक्ष्यमा चितवन रहेको छ ।
५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ । यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्न चाहान्छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया