ताजा अपडेट »

नागरिकप्रति उत्तरदायी भएर काम गर्न मन्त्री यादवद्वारा निर्देशन

मंगलबार, २५ मंसिर २०८१, १६ : ४३
24 Shares
मंगलबार, २५ मंसिर २०८१
24 Shares

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिएका छन् ।

आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले नेपाल सरकारको प्रमुख लक्ष्य भनेको नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने भएकाले सोही अनुसार पानी वितरण गर्नसमेत निर्देशन दिए ।

उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको लक्ष्य भनेको नागरिकलाई शुद्ध र सुरक्षित पानी खुवाउनु हो, सरकारको लक्ष्यअनुसार नागरिकप्रति जनमुखी र उत्तरदायी भएर काम गर्न म तपाइहरु निर्देशन दिन्छु ।”

सोही क्रममा मन्त्री यादवले ‘सरकार एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन लागि परेको समेत जानकारी दिए । उनले भने, “एक घर, एक धारा भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन हामी लागि परेका छौँ, मन्त्रालय सबैमा खानेपानी र सरसफाइको पहुँच पुग्ने गरि कार्ययोजना तयार गरिरहेको छ ।”

खानेपानी संस्थान वीरगञ्ज शाखा अन्तर्गतमा विनियोजित भएको बजेटलाई छिटोछरितो तरिकामा बोलपत्र आह्वान गरी कार्य अगाडि बढाउन र ‘टेन्डर’ प्रक्रिया सुरु भई सम्झौताको चरणमा रहेका खानेपानीका योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिए ।

सो क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रवीनकुमार साहले वीरगञ्ज महानगरपालिका भरिमा कुल ११ हजार चार सय ५० खानेपानीका ग्राहक रहेका र उनीहरुलाई शुद्ध, सफा पानी वितरण गरिँदै आएको जानकारी दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।