बुटवल । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको दोस्रो दिन आज लिग चरणका दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्बल र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसी र इरानको इरानको यु–१८ प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पहिलो खेल दिउँसो २ बजे हुने छ भने दोस्रो खेल साँझ ५ बजे हुने छ । आजको पहिलो खेल घरेलु दुई टोली बीच हुने भएकाले रोमाञ्चक हुने अनुमान गरिएको छ । आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेताका रुपमा हेल्प नेपाल र उपविजेताका रुपमा गण्डकीले च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।
हेल्प नेपाल लगातार दोस्रो जित हात पार्ने दाउमा रहनेछ। उसले शनिवार उदघाटन खेलमा भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गरेको थियो । गण्डकी भने पहिलो जितको खोजीमा हुनेछ। हिजो माल्दिभ्सको क्लब एचडिसी विरूद्ध राम्रो सुरूवात गरेपनि पछिल्ला ३ सेट लगातार गुमाउँदा गण्डकी पराजित हुन पुगेको थियो।
यसैगरी आजको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीले इरानको यु–१८ सँग प्रतिस्पर्धा गर्दै छ । इरानी टोलीको यो पहिलो खेल हो। च्याम्पियनसिपमा नेपालसहित ४ राष्ट्रका ५ क्लबको सहभागिता रहेको छ। सिगंल राउन्ड रोबिन लिगमा १० खेल सहित च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन्। लिगका शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने छन् ।
जहाँ लिगको शीर्षले तेस्रो तथा दोस्रोले चौथो टोलीको सामना गर्नेछ । फाइनल मंसिर २९ गते हुनेछ।
प्रतिक्रिया