बुटवल । वामपन्थी लेखकहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक संघ (प्रलेस) नेपाल रुपन्देहीको अधिवेशन माघ १७ गते बुटवलमा हुने भएको छ । मंसिर २२ गते,शनिवार जिल्ला अध्यक्ष कविराज पौडेलको अध्यक्षता तथा केन्द्रीय सचिव दलबहादुर गुरुङको विशेष उपस्थितिमा बसेको बैठकले सो निर्णय भएको हो ।
केन्द्रीय कमिटीका गतिविधिको बारेमा आफ्नो विचार राख्दै बैठकमा सहभागी केन्द्रीय सचिव गुरुङले प्रलेस(नेपाल, केन्द्रीय कमिटीको आगामी अधिवेशन चैत्रमा,प्रदेश अधिवेशन फागुनमा र सबै जिल्लाका अधिवेशन माघ महिनाभित्र सक्नुपर्ने बताए ।
अधिवेशनमा विमोचन हुनगरी प्रगतिशील लेखरचना, साहित्य समेटिएको प्रलेस अंक प्रकाशित हुनेछ । सो अंककको सम्पादनसंयोजक उपाध्यक्ष यज्ञप्रसाद न्यौपानेको नेतृत्वमा कृष्ण गाउँले, सीता ढुङ्गाना काफ्ले, हुमराज भुसाल, माधवकुमार पौडेल, यज्ञलाल सुवेदी रहेका छन् । साथै प्रचारप्रसार संयोजकमा सचिव कृष्ण गाउँले रहेका छन् ।
प्रलेसले समयसँगै विभिन्न राजनीतिक परिवर्तनहरू र विचारधारात्मक पक्षको नेतृत्व गर्दै आएको छ । प्रलेस नेपाल २००९ सालमा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित भएको वामपन्थीका साझा सांस्कृतिक मोर्चा हो।
प्रतिक्रिया