ताजा अपडेट »

बुटवलमा पहिलो मगर साहित्य महोत्सव, उपसभामुख रानाले गरिन उद्घाटन

शुक्रबार, २१ मंसिर २०८१, १३ : ३३
228 Shares
शुक्रबार, २१ मंसिर २०८१
228 Shares

बुटवल । बुटवलमा मगर साहित्य महोत्सव सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा ‘प्रथम मगर साहित्य महोत्सव’ भएको हो ।

महोत्सवको एक समारोहका बीच प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपसभामुख इन्दरीना रानाले मगरहरुको सबै भन्दा ठूलो इमानदारीता भएको सोझोपन र बाहादुरी भएको बताइन्।

साथै उपसभामुख रानाले मगरहरुले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको बताइन् । रानाले मगर महिलाहरुले नै महोत्सवको आयोजना गरेकोमा खुशी व्यक्त गरिन् ।  यस्तै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रुपमा व्यवहार गर्ने गरेको बताए । उनले बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक वडापत्र ल्याएको समेत बताए ।

प्रमुख पाण्डेयले मगर समुदायलाई आवश्यक सहयोग गर्नका लागि आफू तयार भएको बताए । शनिवारसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान लगायतका कार्यक्रम हुने छन् ।

महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गर्ने कार्यक्रम तय भएको छ । 

यस्तै महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए । 

मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ । 

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने संयोजक रानाले बताए । देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहनेलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो ।

महोत्सवको प्रतिनिधिसभाकी पूर्व सभामुख ओनसरी घर्ती मगरले समापन गर्ने कार्यक्रम रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।