ताजा अपडेट »

दोस्रो सुन्तला महोत्सव र यसको सन्देश

शुक्रबार, २१ मंसिर २०८१, ०८ : ४३
66 Shares
शुक्रबार, २१ मंसिर २०८१
66 Shares

गतवर्ष, चैत्र ३० गते नेपाल सरकारले  सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्यो । सुन्तलालाई राष्ट्रिय फल बनाउनका लागि पाल्पाका माननीय सांसदहरुको बेस्सरी जोड थियो । माननीय ठाकुर गैरे, ज्यान फालेर लागेभने अर्का पाल्पाली सांसद माननीय नारायण आचार्यले ठाकुर गैरेलाई काँध थापे । सुन्तला देशको राष्ट्रिय फल बनिछाड्यो । त्यसका लागि संघीय सरकारका माननीय सांसदहरु धन्यवादका पात्र बने । 

हुन त पहिलोपटक पाल्पामा सुन्तला महोत्सव गर्ने पालिका रिब्दिकोट गाउँपालिका बन्यो । सो पालिकाले गत वर्ष मंसिर १६ गते सुन्तला महोत्सव भव्यताकासाथ सम्पन्न गरेको थियो । महोत्सव उल्लेखनीय र उदाहरणीय बनेको प्रमुख अतिथिका रुपमा निम्त्याईएका संघीय सांसद माननीय ठाकुरले बताएका थिए । सुन्तला महोत्सवले सुन्तला किसानका कथाव्यथा बुझ्ने अवसर दियो । उनीहरुका बगानसम्म नेता, कृषि प्राविधिकहरुलाई सजिलै पुरायो।  अनि, व्यापारीहरुलाई सुन्तलाको बगान टेकायो ।  बजार प्रवर्द्धनमा मद्दत गर्यो । 

नयाँ बजारको खोजीमा सूचना प्रवाह गर्यो । किसानका कुरालाई सबैमाझ ल्याईपुराउन प्रयास गर्यो । सुन्तला खेतीबाट जीविकोपार्जन गर्न सकिन्छभन्ने गतिलो ज्ञान सबैले पाए । यति कुरा थाहामात्र होईन पहिलो सुन्तला महोत्सवबाट सुन्तलाबाट बन्ने सक्ने अनेक परिकार समेत तयार भए । महोत्सवमा सुन्तला बेचिए । सुन्तलाबाट बनेका अनेक परिकारबाट आम्दानी लिन सकिएको सुन्तला पकेट क्षेत्रका वडाध्यक्ष (रिब्दिकोट गापा–७) दानबहादुर कुँवरले बताए  । सुन्तलाका जामजेली, जुश, वाईन, अचारले महोत्सवमा झ्याली पिटेको थियो । गोटा र किलाका दरले गतसालको महोत्सवमा सुन्तला उरुङ्खात् बिक्रीवितरण गरिएको उनै वडाध्यक्ष कुँवरले बताए ।  

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेपछि देशैभर पाल्पाको सुन्तला महोत्सवले चर्चा पाएको थियो । किसानहरु प्रशन्न भएका थिए र पाकेको सुन्तलाजस्तै मन गुलिया बनाएका थिए  । पाल्पाको रिब्दिकोट, रैनादेवी(छहरा त सुन्तलाको राजधानी नै बन्यो । पकेट क्षेत्र बन्यो । हब बन्यो ।

त्यतिमात्र होईन,महोत्सव र राष्ट्रिय फल घोषणापछि बसाइसराई गरि अन्यत्र जान थालेका २२ घरले गाउँमै सुन्तला खेतीलाई आयआर्जनको मुख्यस्रोत बनाएर बस्ने अठोट गरे । खालीजग्गामा  १४ हजार सुन्तलाका बेर्ना सारिए । ४० रुपैयाँ प्रतिकिलोको सुन्तलाको मूल्य ह्वात्तै बढेर ९० रुपैयाँ पर्न थाल्यो । सुन्तला बगान व्यवस्थित हुन थाले ।
 
देशको करिव ६५ जिल्लाहरुमा सुन्तला खेती सम्भव रहेको सुन्तलाखेतीका प्राविधिक विशेषज्ञ बोमबहादुर थापाले बताए । उनका अनुसार सुन्तलामा भिटामीन ए र सी पाईन्छ । केस्रा त  रेसादार हुने गर्छ । सुन्तलाले सुगन्ध दिन्छ । सेन्ट बनाउने काममा समेत यसको प्रयोग हुनेरहेछ । छालालाई नरम र चिल्लो बनाई राख्न सुन्तलाको बोक्रा उपयुक्त देखिन्छ । यसको जुशले शितलता प्रदान गर्छ । 

सिजनल खेतीका रुपमा लिईने सुन्तला खेतीलाई बजारीकरण र व्यवसायिकीकरण गर्न सकिएमा आम्दानीको फराकिलो स्रोत बन्न सक्ने विशेषज्ञ थापाको तर्क छ । शुद्व फल र  मर्दा(पर्दा पनि चढाईने उपयुक्त फलका रुपमा लिईने सुन्तलालाई शितभण्डारण गर्न सकेमा उत्तम हुने देखिन्छ । 

यस वर्ष रिब्दिकोट र रैनादेवी(छहरा गाउँपालिकाले संयुक्तरूपमा यही मंसिर २२ र २३ गते, दोस्रो सुन्तला महोत्सव रैनादेवी(छहराको कटौजे खेलमैदानमा  गर्ने भएका छन् । सुन्तलाको प्रवर्द्धनमा यो महोत्सव रामवाण सावित हुने छन्द देखिन्छ । 

यसपालि जनप्रिय गायक जीवन शर्मासँगै चर्चित कलाकारहरु विधान कार्की,सम्झना रणपाललगायतका कलाकारहरुसँगै सुन्तला खाँदै,जुश र वाईन चाँख्दै सांस्कृतिक कार्यक्रममा झुम्न र झुल्न पाईने भएको सुन्तला महोत्सवका संयोजनकर्ता दानबहादुर कुँवरले बताए । आयोजकका रुपमा रिब्दिकोट र रैनादेवी(छहरा गाउँपालिका रहेका छन् । महोत्सव सम्पन्न गर्न पाँचलाखका दरले रकम समेत मिसाएका छन्। सबैलाई बोलाएका छन् । 

महोत्सवमा सुन्तलाका माला लगाएर सुन्तलाका नाश गरिने छैन । सुन्तलाका वाईन खाएर सुन्तलाका बोटलाई लात्ती हानिने छैनन् । सुन्तलाका जामजेली खाएर चुप लाएर बसिने छैन । सुन्तलासम्बन्धी यो गीतले सुन्तला महोत्सवलाई थप सहयोग गर्नेछ ।  

खाऔं त भने, सुन्तलापानी 
नखाओैंभने 
दुबैको ज्यान जाने,
नरोऊ मायालु ...

सुन्तला महोत्सवले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन पहल गर्नेछ । सुन्तला खेतीबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सकिनेछ । बाँझा,बाँकी रहेका जमिनलाई सुन्तलाका बेर्ना लगाएर हराभरा बनाउन सकिनेछ भनेर सबैलाई थाहा दिन सम्भव छ । सुन्तलाबाट अनेक परिकार बनाउन र स्थानीयलाई स्वरोजगार एवम् रोजगार दिन सम्भव छ भन्ने गतिलो सूचना दिन दोस्रो सुन्तला महोत्सवले विशेष भूमिका खेल्ने छ । गाउँका मानिस, गाउँमै रहने छन् ।  आफ्नो गाउँ,आफै बनाउन र जगाउन सक्रिय रहनेछन् ।
 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार