काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो ।
बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि बम र मार्टिन गप्टिलले ६२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए ।
पहिलो ओभरको अन्तिम बलमा रामोन्स सिमोण्डसको बलमा विराटनगरका ओपनर इस्मात आलाम रनको खाता नखोल्दै आउट भए । बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे । बसिर दुर्गेश गुप्ताको बलमा बेन कटिङबाट क्याच आउट भए । बसिरलाई १५औं ओभरको अन्तिम बलमा १७ बलमा २८ रन बनाएको अवस्थामा साद विन जाफरको बलमा सन्दीप जोराले क्याच मिस गरेका थिए ।
राजेश पुलामीले १० बलमा ४ रन जोडे । राजेश साद विन जाफरको बलमा कट एन्ड बोल्ड भए । राजेश आउट भए लगत्तै क्रिजमा आएका निकोलस कीर्तनलाई दुर्गेशले पहिलो बलमा नै बोल्ड आउट गराए । प्रतिस जिशी ३ बलमा ६ रन बनाउँदै गुप्ताको बलमा बोल्ड आउट भए । क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । लामो सटको प्रयासमा रोहित राजेश पुलामी मगरको बलमा बाउन्ड्रीमा प्रतिस जिशीबाट क्याच भए । टोम मुर्सले १७ बलमा ३१ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे । दुई रन लिने चक्करमा मुर्स रन आउट हुन पुगे ।
पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । आशुतोष सिंगल लिने धुनेमा रन आउट हुन पुगे । अर्जुन साउदले १९ बलमा १७ रन बनाए । अर्जुन इस्मात आलामको बलमा बोल्ड आउट भए ।
सन्दीप जोराले १३ बलमा १२ तथा साद विन जाफरले १३ बलमा १५ रन जोडे । जाफरलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले मार्टिन गप्टिलद्वारा क्याच आउट गराए । त्यसको दुई बलपछि नै बेन कटिङ सन्दीपको बलमा इस्मात आलामबाट रन आउट भए ।
विवेक यादव ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे । विराटनगरले अतिरिक्तमा २९ रन खर्चिएको थियो । विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।
बिहीवारको लिगमा दुई खेल आयोजना हुदैछ । बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।
प्रतिक्रिया