ताजा अपडेट »
स्वरसम्राट नारायणगोपालको ३४ औं स्मृति दिवस

यो सम्झिने मन छ, म बिर्सिु कसोरी ?

बुधबार, १९ मंसिर २०८१, ०७ : ३०
176 Shares
बुधबार, १९ मंसिर २०८१
176 Shares

एसएलसीको तयारीमा थिएँ । जाडो महिना थियो । त्यतिबेला बुटवलको राममन्दिर लाइनमा भोटेनीको थुक्पा पसल (सबैले त्यस्तै नामले चिन्थे) थियो । हामीले जाडोको बेला तात्तातो थुक्पा खाँदै थियौं । थुक्पा खाएपछि पसलमा भएका मानिसहरु एक कान, दुईकान गर्न थाले । सबैले एक अर्कालाई हेर्ने र कानेखुसी गर्न थाले । उनीहरुले गरेको कुरा नारायणगोपालको मृत्युको रहेछ । पछि थाहा पाएँ मैले ।  

नारायणगोपालका गीतहरु कालजयी छन् । उनका गीतहरु स्याडमूडका छन् । विछोडका गीतहरु गाउँछन् उनले । संगीत पढेका उनले आफै संगीत भर्थे । त्योभन्दा धेरै उनले लक्ष्मीप्रसाद देवकोटा, राममान तृषित, रत्नशम्सेर थापा, भूपी शेरचन, इश्वरवल्लभ, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, गोपाल योञ्जन, किरण खरेल, धर्मराज थापा, क्षेत्रप्रताप अधिकारीका गीतहरुमा आवाज भरे । त्यतिमात्र होइन उनले भीम विराग, हरिभक्त कटुवाल, भैरवनाथ रिमाल, चेतन कार्की, अम्बर गुरुङ, धु्रवनारायण मानन्धर, तीर्थ शेरचनका समेत गीतमा स्वर दिएका थिए । 
‘तान चलाउनू, चर्खा काट्नु’ जस्ता उद्यमशील गीत गाएर श्यामदास वैष्णमलाई साथ दिएका थिए । माधवप्रसाद घिमिरेको मालती–मंगले (गीतिनाटक) मा आफ्नो मिठो स्वर भरेका थिए । ‘तिमीले भनेका सारा देव छोएर’ गीतका रचयिता विश्वम्भर प्याकुर्यालको गीतमा उनले न्याय दिएका थिए । सिद्धिचरण श्रेष्टको ‘मेरो प्यारो ओखलढुंगा’ गीतलाई कालजयी बनाउने काममा नारायणगोपाल नै लागे । ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ ...।’ चाँदनी शाहको गीतलाई चाँदनीजस्तै चम्किलो बनाउने काम त नारायण गोपालले नै गरेका हुन् । 

‘यो सम्झिने मन छ ........।’ दिनेश अधिकारीको गीत हो तर त्यही गीतमा नारायणगोपालले आफ्नो कर्णप्रिय स्वर थपेपछि जीवन्त बन्यो । उनले गिरिजाप्रसाद जोशी र दुर्गा श्रेष्ठको नेपाल भाषाका गीतहरु समेत गाएका थिए । कञ्चन पुडासैनी, दीपक जंगम, दीर्घसिंह बम, दिव्य खालिङ, राजेन्द्र रिजाल, कुसुम गजमेर, युधीर थापाका गीत गाएर नेपाली सुगमसंगीतमा आफूलाई अब्बल गायकका रुपमा स्थापित गरेका थिए । 

पेमला लामासँग नारायणगोपालले अन्तरजातीय प्रेम विवाह गरेका थिए । सोही विवाहले उनलाई घरपरिवारमा चिसो सम्बन्ध गरायो । घर छाडेर कहिले पोखरा, कहिले हेटौंडा र काठमाडौंमा नै घर भएपनि डेराको बास गरायो । सायद जीवनको पीडादायिक यात्रामध्ये अन्तरजातीय विवाह पनि एक थियो । हाइप्रोफाइलमा बस्न नरुचाउने नारायणगोपाललाई उनका प्रशंसकहरुले कहिल्यै लोप्राफाईलमा राख्न चाहेनन् । उनका कालजयी र लोकप्रिय आधुनिक गीतहरुले अजम्बर नै बनायो । उनको मृत्यु भएको ३४ वर्षपछि, आजपनि उनका गीतहरु उत्तिकै बज्ने र सुन्ने गरिन्छन् । 

२०४७ को उर्वशी रङ्ग पुरस्कार उनले ग्रहण गर्न पाएनन् । २०४५ सालमा मदन पुरस्कार गुठीले दिने जगदम्बा–श्री पुरस्कार भने थापेका थिए । त्यो पुरस्कारले उनलाई अति नै हर्षित तुल्याएको थियो । छिन्नलता पुरस्कार २०४४ मा प्राप्त गरेका उनले गोरखा दक्षिणबाहु चौथो, रेडियो नेपालमार्फत २०२४ सालमा सर्वोकृष्ट गायकका रुपमा पुरस्कृत भएका थिए । साथै उनले २०२३ सालमा रेडियो नेपालबाटै सर्वोकृष्ट संगीतकारको सम्मान प्राप्त गरेका थिए । उनले मृत्युपछि त्रिशक्ति पट्ट(तेस्रो–२०४७)  र महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी( २०७७) मा प्राप्त गरेका हुन् । 

नारायणगोपालले परिवर्तन, मनको बाँध, सिन्दूर, कान्छी, बदलिँदो आकाश, माया, लाहुरेजस्ता मनपर्दा फिल्ममा गीत गाएका छन् । उनले त्यतिमात्र होइन चिनो, कोसेली, दक्षिणा र चोट फिल्ममा स्वराङ्कन गरेका थिए । उनको गायकीपनालाई मन नपार्ने को पो होलान् र ? तैपनि उनको शरीरलाई हेरेर मन पार्ने मान्छे कमै थिए । भद्दा शरीर, चिउँडो छुने तल्लो ओठले नारायणगोपाललाई भनेजस्तो सुन्दर बनाउन सकेको थिएन । उनी आफू कुस्तीवाजसमेत भएको कारण उनका छेउमा मान्छेहरु पर्नै डराउँथे । कम बोल्ने भएकै कारण उनलाई घमण्डी भन्न रुचाउनेहरु तत्कालीन समयमा नभएका होइनन् । 

नारायणगोपाल आफ्नो जिद्दीपना गर्न पछि पर्दैनथे । मीठो खान रुचाउने उनी आफूपनि पकाउने कुरामा समेत दक्ष थिए । नेवारी परिकार खान रुचाउने नारायणगोपाल, प्रायः साथीहरुसँग ठट्टा गर्न रुचाउने कुरा उनका समकक्षीहरु बताउँथे । जिन्दगी जिउन अनेक बाटाहरु समाएका नारायणगोपालले अन्तिममा गायन र संगीतलाई नै आफ्नो सहारा बनाए । 

उनलाई नजिकबाट देख्न, भेट्न नपाएपनि पीर बिसाउन उनका गीतहरु ओखती बन्दै आएका छन् । स्वरसम्राट पदवीले आफूलाई खिसी गरेजस्तो सुनाउने नारायणगोपाललाई जनताले चिनेको गायक नारायणगोपाल नै काफी हुने साथीहरुलाई सुनाउँथे रे ! 
सम्वत् १९९६ असोज १८ गते जन्मेका उनी, ५१ वर्षको उमेरमा २०४७ साल मंसिर १९ गते आफ्नो भौतिक शरीर नेपाली माटोमा मिसाए । हामीले उनलाई कदापी बिर्सिन सक्ने छैनौं । यो सम्झिने मन छ म बिर्सु कसोरी ..............? 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार