ताजा अपडेट »
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा कतार एयरवेजको उडान रोकियो

मंगलबार, १८ मंसिर २०८१, १४ : १८
298 Shares
मंगलबार, १८ मंसिर २०८१
298 Shares

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजको उडान स्थगित गरेको छ ।

कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा दैनिक एक व्यावसायिक उडान गरेपछि उत्साहित भएको यो क्षेत्रलाई उसले उडान रोकेपछि फेरि निराश बनाएको छ ।

गौतमबुद्ध विमानस्थलमा मंसिर १५ गतेसम्म उडान भर्न अनुमति लिएको कतार एयरवेजले त्यसपछि समय नथपेको हो । विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतका अनुसार पहिला लिएको अनुमति सकिएपछि फेरि अनुमत नलिँदा आइतबारदेखि उडान रोकिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको तर त्यसपछि कुनै रेस्पोन्स नगरेको बताए ।‘एयरलायन्सले नै चासो कम देखायो, हामीले फलोअप पत्र पनि पठायौँ तर पछि खबर गर्ने मात्रै जवाफ आयो’ उनले भने ।

उनले आफूहरूले भैरहवाबाट उडानका लागि कतार एयरवेजसँग समन्वय गरिरहेको र उडानको अपेक्षा लिइएको बताए । कतार एयरवेजले अनुमति लिँदा ०८१ चैत १६ गतेसम्म अनुमति लिनुपर्ने भए पनि कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्ममात्र अनुमति लिएको र उक्त समयावधिको अनुमति लिँदा एयरवेजले पछि अवस्था हेरेर समय थप गर्ने भने पनि नगरेको र अहिलेसम्म थप अनुमतिको लागि प्रस्तावसमेत नगरेको उनको भनाइ छ ।

यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस क्षेत्रका पर्यटन व्यवसायीले यसलाई नियमित बनाउनुपर्ने आवाज उठाइरहेका छन् । हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।