ताजा अपडेट »

बुटवलमा विशेष सांगीतिक कार्यक्रम हुने

मंगलबार, १८ मंसिर २०८१, १३ : ४३
108 Shares
मंगलबार, १८ मंसिर २०८१
108 Shares

बुटवल ।  स्वरसम्राट नारायणगोपालको ३४ ओैं स्मृति दिवसका अवसरमा रागश्री संगीतालयले मंगलवार बुटवल, सुख्खानगरको एभरेष्ट ईन होटलमा नारायणगोपाल स्मृति विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । 

दिउँसो ३ वजेदेखि सञ्चालन हुने उक्त विशेष कार्यक्रममा रागश्री संगीतालयमा तालिम लिईरहेका र संगीतालयबाट तालिम सम्पन्न गरेका कलाकारहरुले आआफ्ना गायन प्रतिभा प्रस्तुत गर्ने संगीतालयका सञ्चालक संगीतकार सुरेश सेञ्चुरीले बताए । साथमा अतिथि कलाकारहरुले समेत नारायणगोपालका गीत गाउने उनले जानकारी दिए । 

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा ईच्छुक सबैलाई गीत श्रवणका लागि आमन्त्रण गरिएको सहआयोजक संस्था रोटरी ई क्लव मेडिको फ्युजन हाईब्रिड,बुटवलले जानकारी गराएको छ ।  सम्वत् १९९६ असोज १८  गते काठमाडौंमा जन्मिएका नारायणगोपालको मृत्यु ५१ वर्षको उमेरमा २०४७ मंसिर १९ गते भएको थियो । 

कालजयी गीतका गायक एवम् संगीतकार नारायणगोपाललाई स्वरसम्राट भनिएपनि उनलाई उक्त मानपदवी मन परेको थिएन । सधैं लोप्रोफाईलमा बस्न रुचाउने नारायणगोपाललाई भने संगीतप्रेमीहरुले सधैंका लागि हाईप्रोफाइलमा राखिरहेका छन् । संगीतको ओैपचारिक शिक्षा हासिल गरेतापनि प्रमाणपत्र धारण नगरेका उनले कुनै कालखण्डमा राष्ट्रिय नाचघरमा महाप्रबन्धकको जिम्मेवारी समेत बहन गरेका थिए । 

दार्जिलिङकी पेमला  लामासँग अन्तरजातीय विहे गरेका नारायणगोपाल गुरुवाचार्यले सोही कारण घरपरिवारबाट अनेक समस्या झेल्दै बहिस्कृत हुनुपरेको तीतो यथार्थ थोरैलाई थाहा भएको विषय हो । 
बुटवलमा हुने उक्त विशेष सांगीतिक कार्यक्रममा नारायणगोपालको जीवनी,उनको तीतामीठा भोगाई र आजसम्म उनको गीत,संगीतप्रतिको झुकावका बारेमा समेत प्रष्ट्याईने संगीतालयकी प्रशिक्षक सरिता पन्थी,सुनारले बताईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।