ताजा अपडेट »

स्थानीय तहको उपनिर्वाचन र नतिजाले दिएको सन्देश:

मंगलबार, १८ मंसिर २०८१, ११ : २९
290 Shares
मंगलबार, १८ मंसिर २०८१
290 Shares

अहिलेको स्थानीय तहको उपनिर्वाचन वाट दलहरू उभिएको धरातल परीक्षण भयो । लोकतन्त्रमा जनताबाट निर्वाचित हुने पदमा दलहरूले गठवन्धन नगरुन् र जनताले आफूले चाहेको उम्मेदवार र दललाई मत दिउन् भन्ने हाम्रो चाहना पनि हो ।

४१ पदका लागि आइतबार भएको निर्वाचनमा प्रायः अधिकांश ठाउँमा एकल प्रतिस्पर्धा रह्यो र उपनिर्वाचनको सन्देश यस्तो देखियो ।

१) कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको काँग्रेसको प्रदर्शन ठिकै रह्यो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र सहितको गठबन्धनमा काँग्रेसले जितेका केही सिट गुमाए पनि एकल प्रतिस्पर्धामा जनमतमा पहिलो दल काँग्रेस नै रह्यो । यद्यपि सहरमा काँग्रेसको जनमत घट्दै गएको देखिन्छ ।

२) १ गाउँपालिका अध्यक्ष, २ पालिका उपाध्यक्ष सहित ५ वडाध्यक्ष जितेको एमालेको प्रदर्शन एकल प्रतिस्पर्धा हुँदा काँग्रेस हाराहारी जनमत पाउँछ भन्ने हाम्रो अनुमान फेल खायो । अघिल्लो निर्वाचनमा काँग्रेस,एमाले सहित गठबन्धन गरेर एमालेलाई घेराबन्दी गर्दा एमालेले उत्साहजनक उपलब्धि हासिल गर्न नसकेको हाम्रो बुझाइ थियो । झट्ट हेर्दा पालिका अध्यक्ष र उपाध्यक्ष अघिल्लो चुनावमा भन्दा थप गरेको देखिए पनि एकल प्रतिस्पर्धामा एमालेको जनमत सन्तोषजनक देखिएन । हिजो सहरिया जनमतले साथ दिइरहेको एमालेको अहिल सहरी क्षेत्रमा कमजोर उपस्थिति रह्यो ।

३) १ गाउँपालिका अध्यक्ष, २ पालिका उपाध्यक्ष, १ नगर उपप्रमुख सहित ७ वडाध्यक्ष जितेको माओवादी केन्द्रको प्रदर्शन एकल प्रतिस्पर्धामा उत्साहजनक देखियो । माओवादी केन्द्रको जनमत घट्दो क्रममा छ भन्ने हाम्रो अनुमान फेल खायो । अघिल्लो चुनावमा काँग्रेस सहितको गठबन्धनमा जित हासिल गरेका केही सिट गुमाए पनि एकल प्रतिस्पर्धामा त्यो भन्दा थप सिट विजय प्राप्त गरेर माओवादी केन्द्रको सशक्त उपस्थिति अझ पनि छ, भन्ने देखियो ।

४) काठमाडौँ महानगरको ठुलो मध्येको १६ नं वडामा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी भएको रास्वपाले फराकिलो मतान्तरले विजय प्राप्त गरे पनि निर्वाचन भएका अधिकांश ठाउँमा जमानत जफत भएकोले रास्वपाको कमजोर सङ्गठन र नेतृत्व प्रति जनताले प्रश्न उठाएको देखियो । यद्यपि, सहरमा रास्वपाको उपस्थिति अझ पनि ठिकै रहेको देखिन्छ ।

५) गत संसदीय निर्वाचनमा तराई मधेसमा सशक्त उपस्थिति देखाएको जनमत पार्टीको कमजोर प्रदर्शन रह्यो ।

६)अन्य, माधव नेपाल,उपेन्द्र महतो, महन्त ठाकुरहरूले नेतृत्व गरेका पार्टीहरू विचार मिल्नेहरू सँग ध्रुवीकरण हुँदै पार्टी मर्ज वा एक्विजिसनमा जाँदा हुने देखियो ।

७)राजेन्द्र लिङ्गदेनले नेतृत्व गरेको राप्रपाले राजतन्त्रको धङधङी छोडेर अहिलेको लोकतान्त्रिक/गणतान्त्रिक व्यवस्था अन्तर्गत पार्टीलाई अघि बढाउँदै विचार मिल्ने सँग ध्रुवीकरणमा जाँदा राम्रो हुने देखियो ।

सहरमा अहिले पनि पुराना राजनीतिक दलहरू प्रति वितृष्णा छ । जनताले भोट दिने नयाँ ठाउँ खोजिरहेको देखिन्छ । कीर्तिपुरको मेयरको चुनावमा विजय प्राप्त गर्ने काँग्रेस उम्मेदवारको मत र स्वतन्त्र उम्मेदवारहरूको मत हाराहारी छ । वडा नं ४ को निकटतम प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार रहे । सहरी क्षेत्रमा अहिले पनि जनताले अहिले चल्तीमा रहेका दलहरूलाई विश्वास गर्न सकिरहेका छैनन् । यद्यपि, गाउँहरूमा अहिले पनि राजनीतिक दलहरूको दबदबा नै छ ।

नेपालका पुराना दलको नेतृत्व पङ्क्ति प्रायः फोहरी छ । नयाँ भनिनेहरू पनि अछुतो देखिएन । राजनीतिमा फोहरलाई सफा गर्न सकिएन भने राजनीति सुधारतिर जाँदैन । अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम बारे दलहरूले गम्भीर रूपमा आत्मसमिक्षा गरून् । दलहरूको नेतृत्व, नेतृत्व शैली, नीति, कार्यशैली बारे छलफल गरून् । लोकतन्त्रको मर्मअनुसार सामूहिक निर्णय वाट पार्टीहरू सञ्चालन गरून् । देश र जनताको स्वार्थको लागि काम गरून् ।

अन्त्यमा, राजनीति सुधारतिर जाओस्, सुन्दर लोकतन्त्रको असल अभ्यास दलहरूले गरून्, सुनसान,रोजगारी सहित यो देश संवृद्ध भएको देख्ने जनताको चाहना पूरा होस् र यसको नेतृत्व दलहरूले नै गरुन् भन्ने नै हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।