ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

दीपेन्द्रको विष्फोटक अर्धशतक

मंगलबार, १८ मंसिर २०८१, १० : ४८
90 Shares
मंगलबार, १८ मंसिर २०८१
90 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनायो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ब्रेन्डन मक्मेलनले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे । पाँचौ ओभरको अन्तिम बलमा अनिल खरेलको बलमा ३ बलमा ७ रन जोडेका मक्मेलनको स्टपिङ आउट गराउन विराटनगरका विकेटकिपर लोकेश बम चुकेका थिए ।

विनोद भन्डारीले २० बलमा ४ चौकाको सहयोगमा २३ रन जोडे । दोस्रो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर विनोदलाई गुमाएको थियो । विनोद पाँचौ ओभरको चौथो बलमा अनिल खरेलद्वारा आउट भए । इशान पान्डेले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । १७औं ओभरको पाचौं बलमा इशान रन आउट भए ।

त्यसअघि पहिलो विकेटका रुपमा सुदूरपश्चिमले अमित श्रेष्ठलाई १ रनमा गुमाएको थियो । अमित दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमको बलमा मार्टिन गप्टिलबाट समातिए ।

आरिफ शेखले ५ बलमा २ चौकाको सहयोगमा ९ रन जोडे । छैटौं ओभरको चौथो बलमा बासिर अहमदको बलमा निकोलस किर्तनबाट क्याच आउट भए । सेफ जेबले १५ बलमा १ छक्काको सहयोगमा १४ रन जोड्दै अनिल खरेलको बलमा बोल्ड आउट भए ।

विराटनगरका लागि अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ । मंगलवारको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।