बुटवल । युएईमा जारी यु १९ एसिया कप क्रिकेटमा नेपाल आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । यद्यपी यो प्रतियोगिताको उपाधि दौडबाट नेपाल बाहिरीसकेको छ ।
दुवै टोली जितले सान्त्वना जितसहित प्रतियोगिता अन्त्यको लागि प्रयास गर्नेछन्। खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।
एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
सहभागीटोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।
प्रतिक्रिया