बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ।
खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ। दुवै खेलाडी एनपिलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन्। धवन भारतका चर्चित ओपनिङ ब्याटर हुन्। अघिल्लो वर्षसम्म आइपिएल खेलेका उनले गत वर्ष नै घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए। संन्यास लिएका भारतीय खेलाडीले मात्र अर्को देशको क्रिकेट खेल्न पाइने भारतीय क्रिकेट कन्ट्रोल बोर्डको निर्णयअनुसार धवनले नेपालमा खेल्न लागेका हुन्।
न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन्। उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए। जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको खेल आफूले हेरेको बताएका निशमले आफू टोलीमा सामेल भएर खेल्न उत्साहित भएको बताएका छन्।
कर्णालीमा धवनले नेपालका तीव्र गतिका बलर सोमपाल कामीको कप्तानीमा खेल्नेछन्। टोलीमा सोमपालसँगै गुल्सन झा, देव खनालसहितका नेपाली खेलाडी छन्। जनकपुरको कप्तान अनिलकुमार साह छन्। उनीसँगै आसिफ शेख, ललित राजवंशी टोलीमा छन्। शनिबार विराटनगरलाई हराउँदा योगदान गरेका लाहिरू मिलान्था र हर्ष थाकरले पनि जनकपुरमा प्रभाव पार्नेछन्।
प्रतिक्रिया