ताजा अपडेट »

सिद्धबाबा सुरुङमार्ग : ब्रेक थ्रूका लागि अब ३ सय मिटरमात्रै खन्न बाँकी

सोमबार, १७ मंसिर २०८१, १२ : ३२
436 Shares
सोमबार, १७ मंसिर २०८१
436 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गमा ब्रेक थ्रूका लागि अब ३०१ दशमलव १९ मिटर खन्न बाँकी रहेको छ । मुख्य सुरुङमार्ग अन्तरगत दक्षिणतर्फ (बुटवलतर्फ) ४५६ दशमलव ७२ मिटर तथा उत्तरतर्फ (पाल्पातर्फ) ३६८ दशमलव ०९ मिटर गरी कूल ८२४ दशमलव ८१ मिटर खन्ने काम सम्पन्न भएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । 

यो प्रगति यही मंसिर १५ गतेसम्मको हो । सुरुङमार्गका २ वटा वाईपास सुरुङ यसअघि नै ब्रेकथ्रू भइसकेका छन् । १ नम्बर बाइपासको गत असोज ४ गते तथा वाईपास सुरुङ ३ को भाद्र २६ गते ब्रेक थ्रू गरिएको थियो । सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १५१ मिटरको र तेस्रो १३० मिटरको ब्रेक थ्रू भएको छ । दोस्रो १६१ मिटरको वाइपास सुरुङ पनि खन्ने काम जारी रहेको छ । कूल १ हजार १२६ मिटर लामो मुख्य सुरुङमार्ग दुवैतर्फबाट खनेर ब्रेकथ्रू गर्ने समयमा वाइपास–२ को समेत ब्रेक थ्रू हुनेछ ।  

सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । तीव्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ । जसले गर्दा यात्रुलाई जहिलेसुकै खतरापूर्ण छ । यही क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या छ ।

भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ ।  बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन गत वर्षको ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो । सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने शर्त छ । यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म सवारीसाधन चल्ने गर्छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।