ऋषि 'आजाद' । त्रिविवि हाम्रो गौरव हो, थियो, छ तर त्रिविविले स्वदेशी विद्यार्थी निता-याे । लुम्बिनी बौद्ध विश्व विद्यालय पनि हाम्रो गौरव हो, जसले विदेशी विद्यार्थी भित्र्यायो । वास्तवमा संस्थागत सक्रियता महत्त्वपूर्ण पक्ष हो । सिंहको मुखमा सिकार आफै आउँदैन, सिकारको लागि सिंह आफै सक्रिय हुनु आवश्यक छ । बौद्ध विश्व विद्यालयको सञ्चालकको अथक साधनाले अहिले विश्वव्यापी पहिचान बनाउन थाल्यो । अब बौद्ध विश्व विद्यालयको पहिचान नालन्दा र तक्षशिलाझैँ बन्न सक्छ ।
अहिले लुम्बिनी विश्वविद्यालयमा चीन, म्यानमार, टर्की, श्रीलङ्का, थाइल्यान्ड र भारतका ९० विद्यार्थी पढिरहेका छन् । अनलाइनबाट अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको छ । विश्वविद्यालयमा विद्यावारिधि गर्नेहरूकाे सङ्ख्या थुप्रै छ र यो एक सकारात्मक पक्ष हो ।
अहिले अमेरिका, जापान र कोरियामा पनि बौद्ध विश्व विद्यालयका एकाइहरु खोलेर कक्षा सञ्चालन गर्ने तयारीको लागि विश्वविद्यालयको टोली नै पुगेर त्यसबारे अध्ययनसमेत गरेको छ । नेपालका विद्यार्थी पढ्न बाहिर जाँदा बाहिरिने ठूलो धनराशिको केही मात्रामा भए पनि क्षतिपूर्ति भएको छ । यो दाबी बौद्ध विश्व विद्यालयका अधिकारीहरूले गरेका छन् ।
बौद्ध विश्व विद्यालय चम्किरहेको छ । त्यहाँ विदेशबाट विद्यार्थी पढ्न आउँदा उनीहरूका अभिभावकहरू आउँछन् । साथसाथै आफन्त पनि घुम्न आउँछन् । यसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जान थालेको छ । अन्तर्राष्ट्रिय छवि राम्रो बन्दैछ । यसरी बौद्ध विश्व विद्यालय अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ हुनुमा कोर बुद्धिजम् मात्र हैन, बुद्धिजम विषयसँग बिजनेस, म्यानेजमेन्ट, कानुन, आइटी, इन्जिनियरिङ, चिकित्सा, विज्ञान, पर्यावरण आदि विविध विषयसँग जोडेर लैजाने रणनीतिले लुम्बिनी बौद्ध विश्व विद्यालयलाई संसारभर लोकप्रिय बनायो ।
हामी लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकाेत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहमा पुग्यौ । त्यहाँ विदेशी स्वदेशी गरी २ सय ८९ जना विद्यार्थीहरूलाई मानार्थ विद्यावारिधि प्राप्त कुलपति डा. खड्गप्रसाद ओलीबाट दीक्षित बनाइएको थियो । त्यहाँ बौद्ध शिक्षाको प्रचार प्रसारमा योगदान गरेकोमा विदुषी गणेशकुमारी शाक्यलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरियो । अनौपचारिक ज्ञान र दक्षताबाट पारङ्गत भएका विद्वानहरूलाई मानार्थ विद्यावारिधि दिने चलन विश्वभर छ । यो बौद्ध विश्व विद्यालयले दिएको पहिलो उपाधि हो । डा. गणेशकुमारी शाक्यलाई हार्दिक बधाई छ ।
दीक्षान्त समारोहमा प्रत्येक सङ्कायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीहरूलाई विश्व विद्यालय स्वर्णपदकबाट सम्मान गरेको थियो । हाल विश्वविद्यालयमा ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् २ हजार ३०८ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । विश्वविद्यालयमा ९० जना विदेशी विद्यार्थीहरू समेत अध्ययनरत छन् ।
२०६१ साल मङ्सिर १४ गते स्थापित विश्वविद्यालय अहिले २०औँ वर्षमा प्रवेश गरिसकेको छ । २०८० देखि २०९० बिचको दशकलाई "प्राज्ञिक र सृजनात्मक" दशककाे रूपमा मनाउने निर्णय भएको छ । लुम्बिनी, बुटवल र देवदहमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू सञ्चालनमा छन् । दाङ, काठमाडौँ, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् ।
विश्वविद्यालयले सातै प्रदेशमा बौद्ध अनुसन्धान केन्द्र स्थापना गरी सोधखोजलाई जोड दिने नीति १६ औँ सभाको बैठकबाट पास गरेको छ । अनुसन्धान केन्द्रमार्फत बौद्ध अनुसन्धान तथा थुप्रै बौद्ध दर्शनका पुस्तक तथा जर्नलहरू प्रकाशित हुँदै आएका छन् । २०६१ सालमा स्थापना भएको बौद्ध विश्व विद्यालयको ०६७ सालबाट मात्रै शैक्षिक कार्यक्रम सुरु भएको थियो । सुरुमा पिएचडीको कार्यक्रम सुरु भएको थियो । गौरवको कुरा अहिले यस विश्वविद्यालयबाट ४० जनाले बौद्ध दर्शनमा विद्यावारिधि प्राप्त गरिसकेका छन् ।
बुटवलको नयाँ गाउँमा सिटी क्याम्पस सञ्चालनमा आएको छ । जहाँ बिए, एलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ । विश्वविद्यालयले आठ कलेजमा सम्बन्धन दिएको छ । पाँच वटा सहकार्यमा सञ्चालित क्याम्पस रहेका छन् । ३० शैक्षिक कार्यक्रम सञ्चालन छन् ।
साढे २ बिघा जमिनबाट सुरु भएको विश्वविद्यालय लुम्बिनीमा सहित अहिले ११३ बिघा जमिन छ । विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन रहेको छ । बुटवल- १२ नयाँ गाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन रहेको छ ।
अहिले केन्द्रीय क्याम्पस, सिटी क्याम्पस, केन्द्रीय कार्यालय, केन्द्रीय पुस्तकालय, पदाधिकारी आवास, शिक्षक आवास, छात्रवास निर्माणका काम सम्पन्न भएका छन् । पदाधिकारीका लागि आवास गृहदेखि १६ जनाका लागि शिक्षक आवास भवन बनेको छ भने करिब सय जना विद्यार्थीका लागि छात्रावास बनेका छन् । त्यस्तै विश्वविद्यालयलाई अझ व्यवस्थित गर्ने क्रममा अनुसन्धान केन्द्र लुम्बिनी र देवदहमा प्रशासनिक भवन निर्माण कार्य भइरहेको छ ।
अहिले ९३ पूर्णकालीन शिक्षक, कर्मचारी र पदाधिकारी कार्यरत छन् । विषयगत शिक्षक कम छन् । पूर्णकालीन शिक्षक कर्मचारी नहुँदा केही समस्या रहेको जनाइको छ । विश्वविद्यालयले गति बढाउँदै लगे पनि यहाँ पर्याप्त शैक्षिक जनशक्ति व्यवस्थापन हुन सकेको छैन । सरकारबाट दरबन्दी व्यवस्थापन हुन नसकेको र सीमित आर्थिक स्रोतसाधनबाट भए पनि गति बढाउँदै लगिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दरबन्दी व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोगमा, मन्त्रालयमा प्रस्ताव पेस गरिएको र विश्वविद्यालय सभाले २१९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।
म्यानमार, भारत, चीन, अमेरिकासहितका विभिन्न देशबाट विज्ञहरू ल्याएर अध्ययनका काम अगाडि बढाउँदै आएको छ । संसारभरका बौद्ध दर्शनमा ज्ञान राख्न चाहनेका लागि विश्वविद्यालय राम्रो अध्ययन केन्द्र बनिरहेको छ । शैक्षिक कार्यक्रम बाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानात्मक कार्यक्रम भइरहेका छन् । अनुसन्धान केन्द्रले बौद्ध दर्शनका पुराना ग्रन्थहरूको अनुवाद गरिरहेका छन् । नेपाली संस्कृतिमा रहेका बुद्धिजीसँग सम्बन्धित महत्त्वपूर्ण ग्रन्थहरूको नेपालीमा अनुवाद गरिएको छ । लगभग एक दर्जन तयार भएका छन् भने तीमध्ये केही प्रकाशितसमेत भएका छन् । नेपालका सात वटै प्रदेशमा रिसर्च सेन्टरहरूको स्थापनाका लागि अध्ययनको काम भइरहेको छ ।
बौद्ध विश्व विद्यालयको ब्रान्ड चम्कनुका धेरै कारणहरूमध्ये भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हो । लुम्बिनीसँग जोडिने चौडा सडक सञ्जाल शानदार रूपमा सर्वत्र फैलिएको छ । केही वर्ष अघिसम्म दुर्गम ठानिने बौद्ध विश्वविद्यालय आज अत्यन्त सुगम बनेको छ । भौतिक पूर्वाधारमा फड्को मारेको छ । राजनीतिक नेताहरूमा प्रधानमन्त्री केपी ओली, विष्णु पाैडल,दीपकुमार उपाध्याय, छविलाल विश्वकर्माको बौद्ध विश्व विद्यालयको स्थापना कालदेखि अहिलेसम्म निरन्तर सहयोग छ । लुम्बिनीलाई चम्काउन, पर्यटन तान्न र गौरवशाली स्थान बनाउन उहाँहरूको योगदान छ ।
लुम्बिनी बौद्ध विश्व विद्यालयको विकासमा पूर्व भिसीहरू प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा. नरेशमान बज्राचार्य, प्रा.डा. हृदयरत्न बज्राचार्य, र वर्तमानका भिसी प्रा.डा. सुवर्णलाल बज्राचार्यको योगदान स्तुत्य छ । प्राध्यापक इन्द्र काफ्ले र लुम्बिनीका अर्का सिद्धहस्त लेखक प्रा.डा. गितु गिरिको योगदान प्रशंसनीय छ । आज यस महाभियनामा गर्वका साथ भन्छु कि यसको भौतिक विकासमा डा. तिलक आचार्यको समन्वयात्मक र प्रवर्द्धनात्मक भूमिका अतुलनीय छ ।
हल्लाले काम गर्दैन, कामले हल्ला गर्छ । डा. तिलक आचार्यको कामले आफै हल्ला गर्न थालेको छ र डा. तिलकको प्रशंसा पनि भएको छ । उहाँलाई बधाई शुभकामना । अस्तु ।
प्रतिक्रिया