कपिलवस्तु । नेपाल समाजबादी पार्टी (नयाँ शक्ति)को गत कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको प्रथम महाधिवेशन माघ २५,२६ र २७ गते काठमाडौंमा गर्ने निर्णय गरेपछि यतिबेला देशै भरी पार्टीको सदस्यता नविकरण अभियानको कार्यक्रम लाई तिब्र पारिएको छ । सदस्यता नविकरण सँगै स्थानीय तह, प्रदेश अधिवेशन हरु आगामी पुस मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने केन्द्रीय महाधिवेशन आयोजक समितिको कार्यतालिका रहेको छ ।
नेसपा (नयाँ शक्ति) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन तयारी समितिले मंसिर पहिलो हप्तादेखि कार्यक्रमको पहिलो चरणमा जिल्लामा पार्टीको सदस्यता नविकरणको कामलाई तीव्र पारेको छ । दोश्रो चरणमा वडा ,गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन हुनेछन् । तेस्रो चरणमा जिल्ला पार्टीको प्रथम अधिवेशन पौष महिनाको चौथो हप्तासम्म जिल्लाको सदरमुकाम तौलिहवामा गरि नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको जिल्ला अध्यक्ष राम निवास पुरीले बताए ।
नयाँ शक्तले सबै तहको नेतृत्व तथा पदाधिकारी र सदस्यहरु ,पार्टीका सदस्यहरुबाट प्रत्यक्ष निर्वाचनको प्रक्रियाबाट निर्वाचित हुनुपर्ने नीति लिएको छ । नेसपा (नयाँ शक्ति)ले २०७४ सालको स्थानीय निर्वाचनको दौरानमा कपिलवस्तु जिल्लामा मायाँदेवी गाउँपालिका उपप्रमुख र दुईवटा वडाअध्यक्षका साथै १३ जना वडा सदस्य विजय गराउन सफल भएको थियो भने प्रदेश तथा संघको निर्वाचनमा ६ प्रदेशसभा र ३ वटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा आफ्नो दलको तर्फबाट उम्मेदवारी दिएको थियो भने त्यो निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेको थियो ।
डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा (नयाँ शक्ति)ले आफ्नो पार्टीको स्थापनाकालदेखि ,देशमा एउटा भरपर्दो र विश्वसनीय प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि विभिन्न व्यक्ति ,समूह ,दल र नेतृत्वको अभ्यास र प्रयोग गर्दै आएको भए पनि ती सम्पूर्ण प्रयोगहरु असफल भए पछि यतिबेला नेसपा (नयाँ शक्ति) आफ्नै मोलिकतामा पार्टी निर्माण र मुद्दा मिल्ने शक्ति हरुसँग संयुक्त मोर्चा निर्माण गरि अघि बढने नीति लिएको छ ।
कपिलवस्तु जिल्लामा नेसपा (नयाँ शक्तिं) का संस्थापक केन्द्रीय नेताहरु बिष्णुहरी शर्मा, नारायण खनाल, इलियाज मुसलमान ,डा.अब्दुल मोबिन मुसलमान , राजेन्द्रमणि पाठक लगाएका नेताहरु डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा (नयाँ शक्ति) को केन्द्रीय प्रथम महाधिवेशन आयोजक समितिका सदस्य छन् । ।
प्रतिक्रिया