ताजा अपडेट »

धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट

आइतबार, १६ मंसिर २०८१, ०८ : ४१
24 Shares
आइतबार, १६ मंसिर २०८१
24 Shares

“मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड
आहा क्या राम्रो बाग्लुङ पञ्चकोट ।”

वासुदेव पौडेल (गण्डकी) । पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो । गीतले भनेजस्तै केही वर्षयता बागलुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्दै आएको छ । बागलुङ बजारबाट उत्तर–पश्चिमतर्फ छ किलोमिटरको दूरीमा रहेको यो स्थानबाट अन्नपूर्ण, धवलागिरि, निलगिरी आदि हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

बागलुङको ताराजालकोट, राबराबकोट, माझकोट, कारिकोट र संसारकोट यहाँका ऐतिहासिक कोट हुन् । नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै अस्तित्वमा आएका यी कोटको सङ्गम स्थलका रूपमा पञ्चकोटले चासो र चर्चा कमाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७१ फागुुन १ गतेदेखि १५ गतेसम्म महायज्ञ गरिएको थियो ।

उक्त महायज्ञका क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ९ गते विश्व शान्ति कलशसहितका संरचना निर्माणका लागि सामूहिक रूपमा शिलान्यास गर्नुभएको थियो । त्यसयता यो स्थल यस क्षेत्रकै प्रसिद्ध धामका रूपमा विकास भएको छ ।

एक दशककै अन्तरालमा यस स्थानमा बनेका सिसै सिसाको महल (सिसमहल), गण्डकी माताको मन्दिर, यज्ञ शाला, हनुमानको विशाल मूर्तिलगायतका धार्मिक संरचनाका कारण देशका विभिन्न स्थानका धार्मिक पर्यटक आकर्षित बन्दै गएका छन् । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा निर्मित यस स्थानमा महायज्ञबाट सङ्कलित रकमका साथै विभिन्न दाताको सहयोग एवं सरकारबाट भएको करोडौँको लगानीले यहाँको स्वरुप नै परिवर्तन भएको छ ।

धवलागिरिलगायतका हिमालसँगै कालाञ्जर पर्वत आदिसँग सिधै आँखा जुधाउन सकिने यो स्थल समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का कार्यालय सचिव रामबहादुर क्षेत्रीले बताए । एक दशककै अन्तरालमा यहाँका अग्लो भिरालो पहाड विशिष्ट धार्मिक गन्तव्यमा परिणत बनेको बताउँदै उनले यसले मुक्तिनाथ दामोदरकुुण्डदेखि त्रिवेणीधाम सम्मका धार्मिक पर्यटकलाई यस तीर्थस्थलले जोडिरहेको बताए। हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुुण्ड, बागलुङको बागलुङ कालिका, म्याग्दीको गलेश्वर धामलगायत तीर्थस्थलमा दर्शनका लागि आएका दर्शनार्थीले नछुटाउने गन्तव्यका रूपमा पञ्चकोट पर्ने गरेको उनले जानकारी दिए ।

यहाँ निर्मित पञ्च महालक्ष्मी मन्दिर, विशाल हनुमान मूर्ति, शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, गणेश मन्दिर, सिसमहल, पाँच हजार पाँच सय किलोको घण्टा, गरुढारुढ नारायण(गरुड शिला), सिंह गुफा, ध्यान कुटी आदि महत्त्वपूर्ण आकर्षणका रूपमा स्थापित बनेको उनको भनाइ छ । यहाँको करिब ९० रोपनी क्षेत्रफललाई समेटेर धार्मिक धामको रूपमा विकास गर्न खोजिएको छ ।

दर्शनार्थीको बढ्दो आगमनसँगै यस तीर्थस्थलमा विभिन्न दान सहयोग पनि बढ्ने क्रममा रहेको छ । अघिल्लो वर्ष दान पेटिकामा मात्रै रु १५ लाख ५० हजार दान सहयोग जम्मा भएको थियो भने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको सिस महलको अवलोकनबाट रु २१ लाख ५० हजार सङ्कलन भएको थियो । त्यस्तै धाम परिसरमा सञ्चालन गरिएको हनुमान झुलामा रमाउने पर्यटक बापत वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । मन्दिरमा हाल तीन पुजारी एवं आठ कर्मचारी छन् । पञ्चकोट धामको सरसफाइ, कर्मचारी व्यवस्थापनलगायतमा मासिक पाँच लाख रुपैयाँसम्म खर्च हुने गरेको थापाले जानकारी दिए ।

एक अर्बको हाराहारीमा लगानी, १३५ फिट अग्लो विश्वशान्ति कलश बन्दैः
पञ्चकोटमा हालसम्म विभिन्न पूर्वाधार निर्माणमा करिब एक अर्बको हाराहारीमा लगानी भैसकेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिए । रु ५० करोडको लागतमा १३५ फिट अग्लो विश्व शान्ति कलशलगायतको निर्माणका उद्देश्य राखी पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञसमेत सञ्चालन गरिएको थियो ।

उक्त महायज्ञबाट रु १२ करोड दान तथा सहयोग प्राप्त भएकामा करिब चार करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । कलश निर्माणका लागि अघिल्लो वर्ष संघ सरकारबाट २० करोड रुपैयाँ विनियोजन भए पनि पछि उक्त रकम अन्यत्र नै रकमान्तर गरिएको आचार्यले बताए।

यस वर्ष कलश निर्माणका लागि रु दुई करोड ८५ लाख विनियोजन भएको उल्लेख गर्दै उनले यस योजनालाई बहु वर्षीयअन्तर्गत राख्नका लागि पहल भइरहेको बताए । विभिन्न १३ तल्ला संरचनामा निर्माण हुने उक्त कलशको सबैभन्दा माथि विश्वभरका तीर्थस्थलको जल राखिनेछ भने अन्य तल्लामा आवश्यकताअनुसार विभिन्न देवीदेवताका मूर्ति, चारधाम लगायतका तीर्थस्थलहरूको झल्को दिने संरचनाहरू तयार गरिने बताइएको छ । त्यस्तै एक तल्लामा सबै गोत्रीय ऋषिहरूका मूर्तिहरू राखिनेछ ।

सङ्घअन्तर्गत शहरी विकास मन्त्रालयबाट यसै आर्थिक वर्षमा फूल प्रसाद राख्ने स्थानका लागि एक करोड रुपैयाँ विनियोजन भएकामा उक्त योजना सञ्चालनका लागि बोलपत्र प्रक्रियामा लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । कार्यालय प्रमुख क्षेत्रीका अनुसार यहाँ स्थित अतिथि आवासमा सुविधा सम्पन्न स्नान कक्षसहितका पाँच वटा कोठा सहित दैनिक १५० जना व्यक्तिलाई राख्न सकिने संरचना रहेको छ ।

यस धामअन्तर्गत नै एक वर्षयता कन्या गुरुकुल सञ्चालनमा आएको छ । उक्त गुरुकुलमा हाल १७-१८ जना कन्या अध्ययन गरिरहेका छन् । त्यस्तै यस धामअन्तर्गत नै सञ्चालनमा आएको गौशालामा हाल स्थानीय जातका ६० वटा गाई पालन समेत भइरहेको उनले बताए।

पञ्चकोटमा सामान्यतः सबै दिन जसो नै दर्शनार्थीहरू आउने गरेको पञ्चनारायण मन्दिरका पुजारी कुमार आचार्यले बताउछन । विभिन्न तिथि, पर्व विशेषका साथै सार्वजनिक बिदाका दिनमा ठुलै सङ्ख्यामा दर्शनार्थी तथा पर्यटक आउने गरेको उनको भनाइ छ । धार्मिक दृष्टिका साथै यहाँको दृश्यावलोकनका लागि टाढा टाढाबाट दर्शनार्थी आउने गरेका कारण त्यसले समग्र बागलुङको पर्यटनमा समेत टेवा पुगेको स्थानीयवासी बताउँछन् । टाढा टाढाबाट आउने गरेका पर्यटकहरू यहाँ निर्मित संरचनाका साथै यहाँबाट देखिने दृश्यावलोकनले मोहित हुने गरेका छन् ।

पञ्चकोटका बारेमा यस अघि विभिन्न सामाजिक सञ्जालबाट देखे सुनेको बताउने तनहुँ ढोरफिर्दीका युवा प्रकाश भट्टराई आफू मङ्सिरको पहिलो साता पारिवारिक भ्रमणका क्रममा पञ्चकोट पुगेको अनुभव सुनाए । यसअघि सामाजिक सञ्जालमा देखे सुनेको पञ्चकोटमा त्यहाँ पुगेपछि छुट्टै किसिमको रमाइलो अनुभूति गरेको उनले बताए ।

“पञ्चकोटको भू बनोटलाई उपयोग गरी बनाइएका संरचना र यहाँ भइरहेको पर्यटकीय विकास हाम्रा देशका धेरै स्थानका लागि प्रेरणाका स्रोत पनि हुन्”, उनले भने, “पोखरा पर्यटनको राजधानी भैसकेको अवस्थामा बृहत् पोखराको अवधारणाका साथ समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि पञ्चकोटजस्ता गन्तव्यहरूको प्रवर्द्धनमा राज्यले पनि चासो दिनु आवश्यक छ ।”

काली गण्डकी सभ्यता र शालिग्रामको महत्त्व बुझाउन गण्डकी सभाः
काली गण्डकी सभ्यता र शालिग्रामको महत्वबारे बुझाउन पञ्चकोटमा प्रत्येक महिनाको पहिलो शनिबार गण्डकी सभा सञ्चालन भइरहेको अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुुसार गण्डकी सभाका प्रत्येक संस्करणमा विभिन्न विशिष्ट व्यक्तित्वलाई बोलाएर काली गण्डकी सभ्यता र शालिग्रामको महत्त्व सम्बन्धमा विशेष छलफल एवम् अन्तरक्रिया गरिएको छ । “हालसम्म ३२औँ संस्करणको गण्डकी सभा सम्पन्न भइसकेको छ”, उनले भने, “आगामी दिनमा काली गण्डकी सभ्यतासँग जोडिएका नदी किनारस्थित म्याग्दी, पर्वत, स्याङ्जालगायतका स्थानका विभिन्न गन्तव्यमा पुगी सभाका कार्यक्रम सञ्चालन गर्ने हाम्रो दीर्घकालीन सोच छ ।”

विश्वमा नै यहाँ मात्रै पाइने शालिग्रामको महत्वसँगै काली गण्डकीको महिमा र गरिमालाई प्रचार गर्न सकेमा यसैका माध्यमबाट समग्र गण्डकी प्रदेश समृद्ध बन्न सक्ने उनले बताए । त्रिवेणीदेखि मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्म दर्शनका लागि आउने भारतीय पर्यटकका लागि यसको महिमा र गरिमालाई बुझाउन सकेमा देशको समृद्धिमा महत्त्वपूर्ण टेवा पुुग्न सक्ने उनको भनाइ छ ।

रासस
लेखकको बारेमा
रासस