काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’– अध्यक्ष प्रचण्डले भने – ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’
बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने उल्लेख गर्दै उनले भने – ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’
प्रतिक्रिया