ताजा अपडेट »
“नवौं लुम्बिनी राष्ट्रिय महोत्सव-२०८१”

‘स्थानीय उत्पादनको प्रवर्द्धनका लागि “नवौं लुम्बिनी राष्ट्रिय महोत्सव”

शुक्रबार, १४ मंसिर २०८१, ०८ : ००
144 Shares
शुक्रबार, १४ मंसिर २०८१
144 Shares

बुटवल । यही मङ्सिर २० देखि रुपन्देहीको प्रमुख व्यपारीक शहर भैरहवामा ‘नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ सञ्चालन हुँदै छ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो ।

आर्थिक मन्दीले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने र भैरहवासहित सिङ्गो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले आयोजना गर्न लागिएको हो ।प्रस्तुत छ, यसै विषयमा रहेर सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका अध्यक्ष ठाकुर कुमार श्रेष्ठसँग ग्लोबल आवाजले गरेको कुराकानी ।

–यही २० गतेदेखि ‘ नवौँ लुम्बिनी राष्ट्रिय  महोत्सव–२०८१’ गर्दै हुनु हुन्छ,   महोत्सवको तयारी कहाँ सम्म पुगेको छ ?
हामीले मङ्सिर २० गतेदेखि पुस १ गतेसम्म ‘नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ आयोजना गरेका छौँ । यसलाई सफल बनाउनका लागि हामी निरन्तर रूपमा नै खटिइरहेका छौँ । मेलामा रहने ३०० स्टल सबै नै बुक भइसकेको अवस्था छ । फिल्डमा पनि हामी सबै तयारी गरिसकेका छौँ । अहिले हामी मेलाको करिब करिब अन्तिम चरणमा नै आइसकेका छौँ । साथै महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रवर्द्धन गर्ने लक्ष्य सहित मेला समिति अगाडी बढेको छ । यी सबै कार्य हामी अन्तिम चरणमा पुराएका छौँ । 

– ९औँ महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?
स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्न र आर्थिक मन्दीले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउँदै भैरहवासहित सिङ्गो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो । अहिले उद्योगी–व्यवसायीको आर्थिक अवस्था दयनीय भएकाले मेला–महोत्सव आयोजना गर्नका लागि अहिलेको परिस्थिति पक्कै पनि अनुकूल थिएन । तर, स्थानीय व्यवसाय प्रवर्द्धनका लागि महोत्सव एक विकल्प हुनसक्छ भनेर हामीले महोत्सव आयोजना गरेका हौँ । महोत्सव सकिँदा बजारमा केही मात्रामा सकारात्मक सञ्चार पैदा गर्छ भन्ने हामीले विश्वास लिएका छौँ ।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै विशेष गरी सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन गर्ने मेलाको मुख्य उद्देश्य हो । 

–अहिले मेला महोत्सव जताततै लाग्ने गरेका छन् । अन्यत्र लाग्ने मेला महोत्सव भन्दा तपाईँले आयोजना गरेको मेलामा के फरक छ ?
पक्कै पनि पछिल्लो समय मेला महोत्सव जहाँ पनि लाग्ने गरेका छन् । हामीले वि.स. २०६१ सालदेखि नै मेला महोत्सव गर्दै आएका छौँ । हामीले मेला महोत्सव गर्दा केही न केही फरकपन दिँदै आएका छौँ । हामीले अहिलेको महोत्सवमा पनि केही नयाँ कुरा दिने गरी नै महोत्सवको आयोजना गरेका हौँ । 

हामीले स्थानीय उत्पादनहरूलाई उपभोक्ता माझ पुराउने हो । साथै उत्पादक र उपभोक्ताहरूलाई जोड्ने काम गरेका छौँ । रुपन्देही जिल्ला कृषिका लागि उर्वर भूमि भएकाले यसलाई प्राथमिकतामा राखेर मेला स्थलबाट नै माटो परीक्षण गर्दैछौँ । कस्तो माटोमा के खेती गर्दा खेरी बढी उत्पादन हुन्छ र व्यवसायीक रूपमा फाइदा गर्छ भन्ने कुरालाई जानकारी गराउनका लागि कृषि निर्देशनालयसँग समन्वय गरेर मेला स्थलमा नै निःशुल्क रूपमा माटोको परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । हामी रुपन्देही र छिमेकी जिल्लावासीहरूलाई पनि आएर आफ्नो माटो परीक्षण गर्नका लागि तपाईँको लोकप्रिय सञ्चार माध्यम मार्फत पनि आग्रह गर्न चाहन्छौँ । 

यसका साथै रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै विशेष गरी सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धनमा महोत्सव केन्द्रित रहने छ । 

यसका साथै यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्ने अवसर मिल्ने अपेक्षा गरेका छौँ । व्यापार गरिरहेकाहरूका लागि यो मेला शिक्षा पनि हो । जो व्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरूका लागि यो अध्ययन हो । मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले व्यापार सम्बन्धी ज्ञान यहाँबाट लिएर जानुहुने नै छ । 

यसका साथै महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्त्विक तथा पर्यटकीय स्थलहरूमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको छ । यस कारणले गर्दा अन्यत्रको मेला भन्दा हामीले गर्न लागेको मेलामा भिन्नता छ । 

–मेलामा कतिले अवलोकन गर्ने र कतिको आर्थिक कारोबार गर्ने लक्ष्य छ?
विगतमा सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो । हामीले ३ लाख दर्शकले मेलामा भित्राउने लक्ष्य लिएका छौँ । सिद्धार्थ उद्योग वाणिज्य संघले आम्दानी हेर्दैन । यो महोत्सव हामीले नाफा कमाउने उद्देश्यले पनि आयोजना गरेका होइनौँ । 

हामीले मेला स्थानीय व्यवसायको प्रवर्द्धन गर्नका लागि निरन्तरता दिएका हौँ । महोत्सव अवधिमा स्थानीय उत्पादन तथा व्यवसाय प्रवर्द्धन गर्नका लागि विभिन्न विषयगत विज्ञसहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर महोत्सवलाई थप सार्थक बनाउँदैछौँ । 

हामीले यहाँका उद्योग व्यवसाय, पर्यटन क्षेत्रको विकास र सिद्धार्थनगर क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि मेला गर्न लागेको हुनाले आम्दानीलाई हामी गौण विषयका रूपमा राख्छौँ । यहाँबाट केही रकम बचत भयो भने हामीले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक काममा सहयोग गर्ने हाम्रो परम्परा नै छ । हामीले अहिले पनि केही रकम बचत भए सोही क्षेत्रमा नै सहयोग गएका छौँ । 

–महोत्सव अवलोकनमा आउने दर्शकहरूलाई प्रवेश बापत के कति शुल्क राख्नु भएको छ ?
हामीले महोत्सवको अवलोकन गर्न आउनेहरूका लागि १०० रुपियाँ टिकट दर राखेका छौँ । यस्तै हामीले विद्यार्थीहरूलाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था पनि गरेका छौँ । 

–अन्त्यमा के भन्न चाहनु हुन्छ?
सिद्धार्थ उद्योग वाणिज्य संघले आठ वटा महोत्सव सफलतापूर्वक सम्पन्न गरीसकोको छ । यसपालीकाे मेलामा विभिन्न औद्योगिक वस्तुहरूको प्रदर्शनी एवम् बिक्री वितरणका साथै विविध सांस्कृतिक प्रतिस्पर्धाहरू पनि रहेका छन । मेलामा दैनिक रूपमा नेपालका चर्चित कलाकारहरूबाट विशेष साङ्गीतिक प्रस्तुतिहरू समेत रहने हुँदा मङ्सिर २० गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने यस '९औँ लुम्बिनी महोत्सव-२०८१' रुपन्देहीवासी र छिमेकी जिल्लाका सबैलाई परिवार सहित मेलाको अवलोकन गर्न हार्दिक अपिल गर्छु ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।