ताजा अपडेट »
फिचर

समर्पणबाट सफलताः डोरिन्द्रराजको बीमा यात्रा

विहीबार, १३ मंसिर २०८१, २० : ४७
60 Shares
विहीबार, १३ मंसिर २०८१
60 Shares

काठमाडौँ । कामप्रति समर्पण भाव, अथक मेहनत र लगनशीलताको परिणाम सधैँ उज्यालो हुन्छ । यस्तै एउटा प्रेरणादायी नाम हो–युनाइटेड अजोड इन्स्योरेन्सका निमित्त कार्यकारी प्रमुख डोरिन्द्रराज दाहाल (दिनेश) ।करिब तीन दशक अघिबाट भारतको नेशनल इन्स्योरेन्सबाट सुरु भएको दाहालको बिमा यात्रामा अनेकौँ चुनौतीहरूलाई आत्मासाथ गर्दै उनले बिमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

तीन दशकको अथक मेहनतमार्फत दाहाल केही दिनअघि मात्रै अजोड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका छन् । युनाइटेड अजोड इन्स्योरेन्ससँग जोडिएर काम गरेको ६ वर्षमै उनले कम्पनीको बजार प्रमुखबाट निमित्त कार्यकारी प्रमुखको पदसम्मको यात्रा तय गरेका हुन् । किशोर अवस्थामै भारतको नेशनल इन्स्योरेन्सबाट सुरु भएको दाहालको बिमा यात्रा निमित्त कार्यकारी प्रमुखसम्म आइपुग्दा सहज भने देखिएको छैन । सुनसरीमा जन्मिएका दाहालले स्कुले जीवन मोरङमा बिताए । दाहाल विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरिरहँदा १९ वर्षका मात्रै थिए ।

सोही समयमा दाहालले बिमा क्षेत्रमा पाइला टेक्ने निर्णय गरे र उनले बिमा क्षेत्रको यात्रा भारतको नेशनल इन्स्योरेन्सबाट सुरु गरे । बिमा क्षेत्रमा निर्जीवन बिमा कम्पनीबाट जागिरे जीवन सुरु गरेका दाहालले साथीभाइसँगको रमाइलो र पारिवारिक माया छाडेर जागिका लागि वीरगन्ज पुगे । किशोरावस्थामै जागिर सुरु गरेपछि वीरगन्जमा कलेज पढ्दै काम गर्नुपर्दा निकै सङ्घर्ष गर्नुपरेको दाहाल सम्झिन्छन् । 

उनी भन्छन्,‘घरपरिवार छाडेर वीरगन्ज आइपुगेको थिएँ । त्यो बेला भर्खरै कम्प्युटर भित्रिएका थिए । टाइपराइटरको ‘ज्ञान’ नहुँदा सुरुवाती दिनहरूमा बिहान ७ बजे अफिस गएर अफिसमै मैँले दिनको तीन घण्टा टाइप सिकेँ । खासमा वीरगन्जमा काम गर्न मन थिएन, विराटनगरमा रमाइलो गरेर बसेको थिएँ,’दाहाल थप्छन्,‘तर, समय र परिस्थितिले मलाई वीरगन्ज पुर्यायाे । त्यहाँ काम गर्दै साथीभाइहरूसँगको सम्बन्धले वीरगन्जलाई मेरो दोस्रो घर बनाइदियो ।’

अथक परिश्रमको फलः
करिब ४५ सय रुपैयाँ तलबबाट आफ्नो जागिरे जीवनको सुरुवात गरेका दाहालको समर्पणले छोटो समयमै कम्पनी र ग्राहकहरूको विश्वास जित्न सफल भयो ।  उनले एक वर्षको समयमै बिमा कम्पनीको एउटा डिपार्टमेन्टको जिम्मा पाए । यस्तो उपलब्धि उनको मेहेनत र लगनशीलताको परिणाम थियो । ‘कामप्रति समर्पण भाव भयो भने सफल भइन्छ र यसको मूल्याङ्कन पनि समयले गर्छ,’दाहाल भन्छन् । तर, नयाँ पुस्तामा यस्तो समर्पण भाव र धैर्यको कमी देखिएको छ । ‘अहिलेको पुस्तामा एक–दुई वर्षमै ठुला उपलब्धिको अपेक्षा गर्ने र तुरुन्तै जागिर परिवर्तन गर्ने प्रवृत्ति बढ्दो छ । तर, सफल हुन धैर्य, प्रतिबद्धता, र त्याग अपरिहार्य छ ।’

निर्जीवन बिमाको गहिराइः
बिमा क्षेत्र खास गरी दुई प्रकारमा विभाजित हुन्छ—जीवन बिमा र निर्जीवन बिमा । दाहालले निर्जीवन बिमाको क्षेत्रमा आफ्नो करियर निर्माण गरेका छन् । निर्जीवन बिमाले मोटर, प्रोपर्टी, मरीन, इञ्जिनियरिङ जस्ता बिमाको क्षतिपूर्ति दिन्छ । ‘निर्जीवन बिमामा अथाह सम्भावना छ,’ दाहाल भन्छन्। ‘ग्राहकलाई कन्भिन्स गरेर, वचन दिएको कुरा पूरा गर्नु नै बिमाको मूल तत्त्व हो, यो विश्वासकै व्यवसाय हो ।’

सङ्घर्ष र अवसरः
बिमा क्षेत्रमा अवसर र चुनौती दुवै रहेको दाहालले बताउँछन् । नेपालको वर्तमान आर्थिक समस्याले बिमा र बैङ्क क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । तर, यस क्षेत्रको भविष्य अझै उज्ज्वल छ । ‘बैङ्क र बिमाको सम्बन्ध नङ र मासुको जस्तो हो । सहकार्य नै यसको आधार हो,’उनी भन्छन् । ग्राहकको दाबी फर्स्योट गर्न सजिलो नहुने तर प्रमाणले पुष्टि हुने दाबीलाई समयमै समाधान गर्नुपर्ने उनको धारणा छ । ‘बिमा भनेको सेतो कागजमा कालो अक्षररूपी विश्वास बेच्ने व्यवसाय हो,’उनी बताउँछन् । 

नयाँ पुस्तालाई सन्देशः
दाहालको जीवनले नयाँ पुस्ताका युवाहरूलाई एउटा सन्देश दिन्छ—धैर्य, समर्पण, र मेहनत नै सफलता प्राप्त गर्ने आधार हो । ‘हामीले आफ्नो जीवनमा कति सङ्घर्ष ग¥यौँ, कति धूप र पानी सह्यौँ । अहिलेका युवाहरूले यो कुरा बुझ्न आवश्यक छ,’ उनले भने ।

जागिरको सुरुवाती दिनमा उनले १२–१४ घण्टा खटेर काम गर्ने बानी बनाएका थिए । ‘सानो कुरामा चित्त बुझेन भनेर आफ्नो भावना मिलेको संस्थालाई फ्याट्टै छाडेर हिँड्नु हुँदैन भन्ने मान्यता राख्ने दाहाल एउटै संस्थामा बिस वर्ष बस्नुपर्छ भन्ने आशय पनि राख्दैनन् । सोही बुझाइपछि दाहाल जेसीजको अध्यक्ष र लायन्सको चार्टर प्रेसिडेन्ट बने ।

स्पीच कन्टेस्टमा जेसिजमा नेपालभरबाट प्रथम भएको सुनाउँछन् । उनी भन्छन्,‘ग्राहकलाई म कन्भिन्स गर्न सक्छु र वचन दिएको कुरा ९९ प्रतिशत पूरा गर्छु ।’ जीवनलाई सन्तुलन राख्दै, परिवार र करियरलाई सँगसँगै अगाडि बढाउने कलामा दाहाल पोख्त छन् । 

अध्यात्म र जीवनप्रतिको दृष्टिकोणः
दाहालका लागि काम मात्र सबै थोक होइन । अध्यात्मप्रतिको रुचिले उनलाई सन्तुष्टि र शान्ति दिएको छ । ‘भौतिक चाहना अनन्त हुन्छ तर, अध्यात्मले जीवनलाई सन्तुलनमा राख्छ,’उनी भन्छन् । उनी नेपाली चलचित्रहरू हेर्न रुचाउँछन् र सधैँ परिवारसँग समय बिताउन अग्रसर रहन्छन् । ‘काम गर्न गाह्रो भए पनि असम्भव केही छैन,’ दाहाल भन्छन् । ‘सन्तुष्टि भनेको पूर्ण हुँदैन । तर, जीवन चलाउन सक्ने सीप छ भने सुखी भइन्छ,’ उनले भने । 

युनाइनेड अजोड इन्स्योरेन्समा प्रवेशः
दाहाल बीरगञ्जबाट काठमाडौँ आइसकेका थिए । नेशनल इन्स्योरेन्समा क्वालिटी सेवा दिएकै कारण एभरेस्ट, प्रीमीयर हुँदै युनाइटेड अजोड इन्स्योरेन्समा प्रवेश गरेको बताउँछन् । पुरानो कम्पनीमा प्रवेश गरेर स्थापित भइसकेपछि मान्छे अल्छे हुने भएकाले नयाँ कम्पनीमा प्रवेश गरी पुनः उनलाई सङ्घर्ष गर्न रूचि थियो ।

त्यसैले पनि दाहालले नयाँ कम्पनी युनाइटेड अजोडमा प्रवेश गरेको सुनाए । तथापि, जति कम्पनीमा गए, त्यति नै कम्पनी र ग्राहकको विश्वास बटुल्दै आएको उनी बताउँछन् । अजोड इन्स्योरेन्समा सिधै बजार प्रमुखको रूपमा प्रवेश गरेका उनले पछिल्लो समय बिमा क्षेत्रमा चुनौती र अवसर दुवै रहेको सुनाए ।

‘चुनौती त छ, चुनौतीलाई सामना गर्न सदैव तयार हुनुपर्छ । गा¥हो भए पनि असम्भव भन्ने कुरा छैन,’ उनी भन्छन्, ‘बिमाको सेक्टरमा मात्रै होइन देशमै अर्थतन्त्रको समस्या भइरहेको छ । खास गरी इन्स्योरेन्स र बैँक भनेको नङ र मासुको सम्बन्ध हुन्छ । त्यसैले बैङ्कसँग सहकार्य गर्नुको विकल्प नै छैन ।’ जेन्यून क्लेम समयमै फर्स्यौट गर्न कुनै समस्या नहुने उनले बताए। यदि ग्राहकले विश्वास नगरेको भए लगभग तीन दशक एउटै सेक्टरमा बिताउन कसरी सक्नु ?’ उनले प्रतिप्रश्न गरे ।

बिमामा नयाँ सम्भावनाः
दाहालको दृष्टिकोणमा बिमा क्षेत्रले ठुलो सम्भावना बोकेको छ । तर, नेपालजस्तो मुलुकमा बिमाको महत्त्व अझै पूर्ण रूपमा बुझाउन सकिएको छैन । ‘बिमाको माध्यमबाट जीवनलाई सुरक्षित बनाउन सकिन्छ । यो क्षेत्रमा इच्छुक र लगनशील व्यक्तिका लागि अपार अवसर छ,’ उनी भन्छन् । 

प्रेरणा स्रोतः
दृढता, लगनशीलता, र नैतिकताको बाटो समातेमा कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । दाहाल कामप्रति समर्पण, सङ्घर्षको सामना गर्ने आँट र विश्वासको महत्त्वलाई प्रतिनिधित्व गर्छन् । तीन दशकदेखि एउटै क्षेत्रमा टिकेर, विभिन्न कम्पनीहरूमा आफ्नो सेवा दिँदै, ग्राहक र कम्पनीको विश्वास जित्न सफल हुनु आफैँमा एउटा उपलब्धि हो । उनको जीवनले सन्देश दिन्छ-‘कर्म गर्नेको हात भगवानले चुम्छन् ।’
(नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा आधारित)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।