ताजा अपडेट »

सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त

विहीबार, १३ मंसिर २०८१, ११ : १४
34 Shares
विहीबार, १३ मंसिर २०८१
34 Shares

 सुनसरी। सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै थिइन् । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त थिइन् । उनलाई  कसरी धान काट्ने र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्ने चिन्ता  थियो । उनिजस्तै गढी–६ कै ५० वर्षीया रोना साह पनि धान काट्नमा नै व्यस्त थिए ।

यही मङ्सिर १६ गते सुनसरीको १२ स्थानीय तह मध्यको गढी ६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको विषयमा उनलाई खासै मतलब थिएन । उनिहरू गढी ६ का प्रतिनिधि पात्र मात्र हुन् ।

कोही ज्याला मजदुरीमा त कोही सानोतिनो व्यापार–व्यवसाय गरेर दैनिक गुजारा टार्दै आएकाले सोही काममा व्यस्त हुने गरेको स्थानीय मतदाता अञ्जुदेवी साहले बताइन् । “चुनावले घरखर्च चलाइ दिँदैन त्यसका लागि काम गर्नैपर्यौ चुनावका दिन जाउला कुनै एक जनालाई मतदान गरौँला”, उक्त क्षेत्रकी मतदाता अञ्जु साह भन्नुहुन्छ । प्रायः मतदाता घरमा नभेटिने गरेको र चुनावप्रति धेरै चासो नरहेको पाइएको छ । 

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या भएको छ भने कसको पक्षमा नतिजा जान्छ भन्ने ठम्म्याउन कठिन भएको छ । विसं २०७९ को स्थानीयतहको निर्वाचनमा गढी–६ मा एमालेका षडानन्द उराँवले जितेका थिए । उनले सात सय १२ मत ल्याएका थिए । उनको निधनपछि यस वडामा पुनः चुनाव हुन लागेको हो ।

गत चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले चार सय २४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी चार सय १६ मतका साथ तेस्रो स्थानमा थिए । 

जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी ६ मा जित निकाल्ने कसरतमा  छ । गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त वडामा एक हजार आठ सय ७३ पुरुष र एक हजार सात सय ४९ महिला मतदाता छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।