ताजा अपडेट »

एनपिएलका लागि विदेशी खेलाडी नेपाल आउन सुरु : बाबर हायतलाई कर्णाली याक्सले गर्यो स्वागत

बुधबार, १२ मंसिर २०८१, ०८ : १३
74 Shares
बुधबार, १२ मंसिर २०८१
74 Shares

काठमाडौं । प्रथम नेपाल प्रिमियर लिग (एनपिएल)का लागि विदेशी खेलाडीहरु नेपाल आउन सुरु गरेका छन् । यही मंसिर १५ गतेदेखि हुने एनपिएलमा कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् ।

मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । ३२ वर्षीय बाबरले हङकङको लागि ७९ टी–२० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई सतक र १० अर्धसतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।