ताजा अपडेट »

लुम्बिनी बौद्ध विश्वविद्यालयमा शुक्रबार तेस्रो दीक्षान्त समारोह

बुधबार, १२ मंसिर २०८१, ०७ : ४७
40 Shares
बुधबार, १२ मंसिर २०८१
40 Shares

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले शुक्रबार लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । समारोहको उदघाटन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । 

उदघाटन समारोहमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलका साथै शिक्षामन्त्री विद्या भट्टराई पनि सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दीक्षान्त समारोह लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा र सभाको १७ औं बैठक विश्वविद्यालयको सिनेट हलमा सम्पन्न गरिने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।

उनका अनुसार दीक्षान्त समारोहमा विद्यावारिधी, स्नतकोत्तर र स्नातक तहका गरी दुई सय ८९ जना विद्यार्थीहरु दीक्षित हुनेछन् । साथै विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधी उपाधि समेत प्रदान गर्ने छ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएका भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधी उपाधि प्रदान गर्ने यसअघि नै सभाले निर्णय गरिसकेको छ ।

त्यस्तै दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिने रजिष्ट्रार आचार्यले बताए । विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोहसँगै २० औं वार्षिकोत्सव समेत मनाउँदै छ । वार्षिकोत्सवका अवसरमा मंसिर १३ गते बुटवलमा रक्तदान, मंसिर १४ गते दीक्षन्त समारोह, १५ गते अन्तर्राष्ट्रिय सेमिनार र मंसिर १६ गते देवदहमा शिक्षक तथा कर्मचारीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गनिरे बताइएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले हाल विश्वविद्यालयमा ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए । उनका अनुसार दुईहजार ३०८ विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयमा ९० जना विदेशी विद्यार्थीहरु छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।