ताजा अपडेट »

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारी रिहा

सोमबार, १० मंसिर २०८१, २० : ४२
82 Shares
सोमबार, १० मंसिर २०८१
82 Shares

काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।  

जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । मन्त्री पनि उनीहरूसँगै डिर्पोट भएर नेपाल आएपछि यो घटना सार्वजनिक भएको थियो ।

उनले पदबाट राजीनामा पनि दिएपछि अनुसन्धान अघि बढेको थियो ।  लगत्तै उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरिएको थियो । मानव तस्करीमा अनुसन्धान हुनुपर्ने दबाब सार्वजनिक रूपमा आउन थालेपछि प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

उनलाई जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएपछि बयान गराइएको थियो । उनीसहित पक्राउ परेका सबैको बयानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा दायर नगर्ने निर्णय गरेको थियो ।  उनले क्लिन चिट पाएसँगै रिहा भएका हुन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।