ताजा अपडेट »

लुम्बिनीमा सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

आधारतभुत तहसम्म जनचेतना पुर्याउन मुख्यमन्त्रीको आह्वान

सोमबार, १० मंसिर २०८१, १६ : ४०
46 Shares
सोमबार, १० मंसिर २०८१
46 Shares

दाङ । लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरेका हुन् । 

लुम्बिनी प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउन आधारभुत वर्गका नागरिकको बीचमा पुगेर जनचेतना अभिवृद्धि गर्न आह्वान गरेका छन् । ‘सबै प्रकारका हिंसा विरुद्धका अभियान चलाउन सरकार प्रतिबद्ध छ । नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन गरेर सरकार अघि बढेको छ’–उनले भने, ‘हिंसा पनि नगर्ने, हिंसा पनि नशहने समाज बनाउन जरुरी छ । यसका लागि जनचेतना अभिवृद्धिनै पहिलो आधार हो ।’ अभियानको क्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामा विभिन्न रचनात्मक कार्यक्रमहरु गरिँदैछन् । अभियानमा जनप्रतिनिधि, राजनीतककर्मी, सामाजिक अभियन्ताहरुले समेत सचेतना अभिवृद्धिमा ध्यान दिन मुख्यमन्त्रीले आग्रह गरे । लुम्बिनी प्रदेशमा बालविबाह, केही हानिकारक सामाजिक तथा सांस्कृतिक मुल्यमान्यताका कारणले पनि हिंसा बढेको देखिए पनि हिंसा न्यूनिकरणका लागि साझा प्रयासहरु थालिएको जनाइएको छ । 

सामाजिक न्याय र समतामा आधारित लैंगिक समानतायुक्त प्रदेश बनाउन सरकारले काम गरिरहेको मुख्यमन्त्री आचार्यले बताए । लैंगिक हिंसा अन्त्यको लागि सबैको साझा एक्यबद्धताको खाँचो समेत औंल्याए । ‘संविधानले सबैखाले विभेदको अन्त्य गरेको छ । त्यही मुल मर्म अनुसार कसैमाथि कुनैप्रकारको हिंसा हुन्छ भने त्यो दण्डनीय ठहरिन्छ’–मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक रुपान्तरण, सशक्तिकरण र हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा एक्यबद्धतकाृ आवश्यकता छ ।’

सामाजिक बिकास मन्त्रालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक समारोह आयोजना गरेर अभियान सञ्चालन भएको घोषणा गरेको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । यस वर्ष ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’–मुख्य राष्ट्रिय नारासहित दिवस मनाउन थालिएको हो । 

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सुधारिएको समाज निर्माण नहँदासम्म हिंसा विरुद्धको अभियान निरन्तर चलिरहने बताए । समाज रुपान्तरणका अभियानलाई सबैको सहभागितामा अघि बढाइने समेत जानकारी दिए । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा गत आर्थिक वर्ष २०८०÷८१ मा सात सय १९ वटा विभिन्न लैंगिक हिंसाका मुद्दा दर्ता भएका छन् । जसमध्ये ६ सय ६८ वटा मुद्दा फर्छ्यौंट भएका छन् । ८१ वटा मुद्दा फर्छ्यौट हुन बाँकी देखिन्छ । जवरजस्तीकरणी, जवरजस्तीकरणी उद्योग, बहुबिवाह, बालबिवाह, बोक्सी आरोप, जातीय छुवाछुत, गर्भपतन, बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन, मानव बेचविखन जस्ता मुद्दाहरु दर्ता भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।