ताजा अपडेट »

दाङको थारु सङ्ग्रहालयमा आकर्षण बढ्दो

शनिबार, ०८ मंसिर २०८१, १३ : १५
68 Shares
शनिबार, ०८ मंसिर २०८१
68 Shares

तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका-३ स्थित थारु सङ्ग्रहालयमा संरचना थपिएसँगै आकर्षण बढेको छ । सङ्ग्रहालयमा देशभरका थारु पुर्खाहरुको रहन, सहन, भेषभूषा, संस्कार, संस्कृति झल्किने थारु गाउँ बस्ती नाम दिएर संरचना थपिएसँगै थप आकर्षण बढेको हो । जहाँ दाङको डगौरा नाच, देउखुरी दाङको नाच, कोशी पारी रहेको मोरङ नाच, चितवनको लठ्ठी नाच, कैलाली र कञ्चनपुरका राना थारुहरुको नाच, होली नाच, बड्का नाचको मूर्ति राखिएको छ । 

थारु समुदायका पुर्खाहरुले कस्तो खाने कुरा खान्थे, कस्तो संस्कार, संस्कृति थियो भन्ने कुरा त्यसमा देखाइएको छ । जसले गर्दा दैनिक एक सयभन्दा बढीले अवलोकन गर्ने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले बताइन् । “चाडपर्वको समयमा त सात सयभन्दा बढी दैनिक अवलोकन गर्ने हुन्छन्”, उनले भनिन्, “अफ सिजनमा मात्रै दैनिक एक सयभन्दा बढी आउने गर्नुहुन्छ ।”  

जहाँ सङ्ग्रहालयमा थारु संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाँचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रति दिन मानिसको घुइँचो लाग्ने गरेको छ ।

सबै समाजका थारु समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । चौधरीका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभई बाहिरबाट आउनेको सङ्ख्या बढिरहेको छ । त्यहाँ थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाडा, दंगौरा घरलगायतका सामग्री सङ्ग्रहालयमा राखिएको छ । 

अहिलेसम्म करिब रु १० करोड खर्च भइसकेको उनले बताइन् । साथै थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । विसं २०७५ सङ्ग्रहालयदेखि उक्त सङ्ग्रहालय सञ्चालनमा आएको हो । सोही सङ्ग्रहालय निर्माण भएपछि स्थानीयले रोजगारी पाएका छन् ।

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारुको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । 

सङ्ग्रहालयमा राना, डंगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याएको छ । उक्त सङ्ग्रहालय पाँच बिघा क्षेत्रफलमा रहेको छ ।

सङ्ग्रहालयमा सामान्य प्रवेश शुल्क रु ५० छ । तर, अपाङ्ग, विद्यार्थी, एकल महिलालाई रु ३० मात्रै छ । दैनिक सरदरमा ४० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताइन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।