ताजा अपडेट »

झापाबाट ११ करोडको चिया निर्यात

शुक्रबार, ०७ मंसिर २०८१, ११ : ०४
14 Shares
शुक्रबार, ०७ मंसिर २०८१
14 Shares

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । 

“गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने । इलामको सूर्योदय  १, माइजोगमाई १ र झापाको मेचीनगर(५ मा संस्थाले तीन वटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियो पत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु १३ करोड लगानी भएको उनले बताए। 

संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उनले दिए।

बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चिया पत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।