ताजा अपडेट »

रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र

विहीबार, ०६ मंसिर २०८१, २० : ४९
24 Shares
विहीबार, ०६ मंसिर २०८१
24 Shares

किमाथाङ्का (सङ्खुवासभा) । सिलिचोङ गाउँपालिका(१ बेसिन्दामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र भएको छ ।

सिलिचोङ(१ बेसिन्दाका ९७ घर परिवार ०७७ असार २८ गते राति आएको पहिराले  विस्थापित भएका थिए ।  पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारका लागि खाँदबारी नगरपालिका(७ स्थित भैरे डाँडामा घर निर्माण थालिएको भएपनि ०८० माघ महिनादेखि घर निर्माण रोकिएको हो । पहिरो पीडितको समयमा घर निर्माण हुन नसक्दा अझै टेण्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

समयमा घर निर्माण हुन नसक्दा सिलिचोङ(१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ परिवारको चार वर्षयता पुनः स्थापना हुन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको खातामा रकम नआउँदा ०८० माघ महिनाबाट घर निर्माण रोकिएको खाँदबारी नगरपालिका(७ का कार्यवाहक वडाध्यक्ष झलक कुसुलेले बताए।

सरकारले घर निर्माणका लागि दिने भनेको ५ लाख रुपियाँ रकम जिल्ला विपद् व्यवस्थापन समितिले भुक्तानी नगर्दा घर निर्माण बिचैमा अलपत्र परेको कार्यवाहक वडाध्यक्ष कुसुलेले बताए । उनका अनुसार ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत मात्र काम सकिएको छ ।

पहिरोबाट विस्थापित भएको झण्डै साढे दुई वर्षपछि बेसिन्दा गाउँका पहिरो पीडितको घर निर्माण थालिएको हो । घर निर्माण अलपत्र भएपछि अस्थायी टहरामा बस्दै आएको पहिरो पीडित परिवार थप पीडामा परेका छन् ।

पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलबध गराउने निर्णय भएको थियो । सङ्घीय सरकारबाट रकम नआएपछि घर निर्माणको भुक्तानी गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो ।

पहिरो पीडितको आवास निर्माणका लागि ५ लाख ५० रुपियाँ तोकिएको थियो । आवास निर्माणको ५ लाख ५० रुपियाँ रकम प्राविधिकको मूल्याङ्कन अनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपियाँ मात्र भुक्तानी पाएका छन् ।

भैरे डाडाँमा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरिएको थियो ।  पहिरोबाट विस्थापित ९७ परिवारमध्ये २५ घर चित्रे, १२ परिवार बखल्टुमटार र ५५ परिवार खाँदबारी अस्थायी रुपमा बसिरहेका छन् । पहिरो पीडितका लागि चित्रेमा ५१ दशमलव ५ रोपनी ७० लाख र बखल्टुममा १७ दशमलब ५ रोपनी ३४ लाखमा खरिद गरि पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ । सिलिचोङ(१ बेसिन्दाका नौ ओटा घर ओटा ०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।