ताजा अपडेट »
चलचित्र सम्वाद

पुर्णबहादुरको सारंगी सफल हुँदा चमत्कार जस्तै पनि लागिरहेको छ (भिडियोसहित)

मंगलबार, ०४ मंसिर २०८१, ११ : १४
160 Shares
मंगलबार, ०४ मंसिर २०८१
160 Shares

चलचित्र पुर्णबहादुरको सारंगीले नेपाल चलचित्रको क्षेत्रमा सबैभन्दा बढी कमाएर नयाँ ईतिहास रचेको छ । यो चलचित्रले हालसम्म ३५ करोड बढी ग्रस कलेक्सन गरेको निर्माण टोलीको दाबी छ । चलचित्र रिलिज भएको १८ औं दिनसम्म पनि उपत्यका तथा मोफसलका हलहरुमा दर्शकको उत्तिकै साथ पाइरहेको छ । यसै सन्दर्भमा चलचित्रका मुख्य अभिनेता विजय बराल मोफसल यात्रा अन्तगरगत सोमबार बुटवलका सिनेमा हलहरुमा आएर दर्शकलाई भेट गरेका छन् । सोही क्रममा ग्लोबल आवाजका लागि डि.बी. सुस्लिङले गरेको कुराकानी । 

दर्शकको प्रतिक्रियाका लागि मोफसल यात्रामा हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 
सिनेमा चलेको समयमा सबैभन्दा धेरै दर्शकसँग भेटौं भन्ने उद्देश्यले अहिले म मोफसल यात्रामा छु । सबैभन्दा मुख्य कुरा उहाहरुसँग नजिक भएर हेर्न पाउँदा उहाहरुको इमोसन, उहाहरुको भावनालाई बुझ्ने प्रयास गरे । म थिएटरमा अभिनय गर्ने मान्छे जाहा तत्कालै दर्शकको प्रतिक्रिया देख्न पाइन्छ । यसैगरी यो सिनेमा दर्शकसँगै हेर्दा उहाँहरु अचम्म मानिरहनु भएको छ, कोही हाँसीरहेको देख्छु, कोही रोईरहेको देख्छु, साना बच्चाहरु पनि फोटो खिच्नका लागि टाँसिन आउँदा आनन्द लाग्छ, कतिका हात कापिरहेका देख्छु । सबैभन्दा ठूलो कुरा महशुस गर्नु हो, त्यसैले मोफसल यात्रामा दर्शकसँगै बसेर उहाँको भावना र प्रतिक्रियालाई महशुस गर्न पाएको छु । 

यो सिनेमा यति धेरै चल्छ, कमाउछ भन्ने लागेको थियो ? 
सफल हुन्छ, केही कमाउछ भन्ने त थियो दिमागमा तर यत्रो भयङ्कर कमाउछ, चल्न भन्ने थिएन । यो सिनेमाबाट मैले गरेको एप्रिसियसन पाउछु, भन्ने त थियो, तर यो किसिमको उत्साह, यो किसिमको माया आज हामी १८ औं दिनमा बुटवलमा बसेर कुरा गर्दा पनि पाएका छौं । कहिलेकाँही जादु हुन्छ नि, चमत्कार हो त्यस्तै जस्तो पनि लाग्ने । यो मेरो लागि मात्रै नभै सम्पूर्ण निर्माण पक्ष, सिनेमा क्षेत्र सबैका लागि खुसीको कुरा हो । 

यो फिल्मबाट विजय बराल सुपरस्टार नै भयो, अब उसको भाउ बढ्ने होला, आउने फिल्म कस्तो होला भन्ने धेरैको कौतुहलता छ नि ? 
सुपरस्टार त म हुँदै होइन । म चरित्र अभिनय गर्ने अभिनेता हूँ । म सामान्य कलाकार हो । अर्को कुरा मेरो रेटका कुरा होला वा अन्य कुरा, सबै तपशिलकै जस्तै, पहिले जस्तो थियो त्यस्तै नै हुने छ । म हिट भए, चले भन्दैमा भयङ्करनै हुने भन्ने हुँदैन, भर्खरै परिवर्तन मान्छे हुने पनि होइन । यो कहिलेकाँही पाउने पावर त हो, त्यहीमा इन्जोय गरिरहेको छु अहिले केही रिल्याक्स चाही गरिरहेको छु । 

पुर्णबहादुरको सारंगीमा हस्ताक्षर गर्ने समय के तपाई पहिले नै पुर्णबहादुरको चरित्रमा आउने फिक्स भएको थियो ? 
हो मलाई प्रस्ताव आउने बेलामा पुर्णबहादुर नै बन्नुपर्छ भनेर आएको थियो । तर, यो विषयमा निर्णय गर्न मलाई २ हप्ता लागेको थियो ।

यो चरित्रमा न्याय गरेको जस्तो लाग्छ तपाईलाई ?
न्यायको कुरा त, अभिनयमा न्याय गर्छु नै म । आजसम्मको रोलमा मैले नगरेको छैन । तर यो सफलताले मेरो जुन किसिमको हाइट बनाइदियो त्यो चाही फरक भयो । सबै कुरा मिलेको खण्डमा अभिनय पनि राम्रो देखिएको हो । तर म के विश्वस्त थिए भने मेरो कामप्रति चाही म विश्वस्त थिए । मैले गरेको अभिनय मनपराइदिनुहुन्छ भन्ने विश्वस्त थिए । तर यसलाई कमाईको हिसाबले हेर्नाले भयङ्कर देखिएको हो ठूलो देखिएको हो । तर, मेरो हिसाबमा, अभिनयको हिसाबमा पहिले मैले जे गर्थे त्यही नै गरेको हो । किनकी मेरो काम नै त्यही हो नि । यसको लागि म थिएटरमा काम गर्ने भएकोले केही मेहनत गरे, करिब १० दिनसम्म ठमेलमा गएर गन्धर्वहरुसँग बसेर उनीहरुको चालढाल सारङ्गी समाउने तरिका लगायतका विषयमा जानकारी दिए । उहाहरुको जीवनशैली, उहाँहरुको भोगाई, ईतिहासहरु बारे जानकारी लिए । यसका साथै राइटरले जे–जे कुराहरु भन्नुभयो ती कुराहरुलाई मैले इम्याजेशन गरेर अभिनयमा ल्याउँदा राम्रो भयो । 

पुर्णबहादुरको सारंगी बाहेक अहिले के कुरामा व्यस्त हुनुहुन्छ ? 
अहिले ठ्याक्कै भन्दा म केही कुरामा व्यस्थ छैन । मोफसल यात्रामा छु, आनन्द लिइरहेको छु । यहाँबाट जाने वित्तिकै भने ‘दबार’को सुटिङमा हुने छु । त्यसैगरी नाटकको तयारी हुँदै छ । मंसिर २१ मा एउटा नाटक गर्दै छु, काठमाडौं मण्डलामा । त्यो नाटकका लागि रिहलसन चलिरहेको छ । बास्तवमै अहिले म खाली नै छु, यो समयमा बिताउन, इन्जोय गर्नका लागि पनि मोफसल यात्रामा हिँडेको हुँ म अहिले । 

अन्तिममा दर्शकहरुलाई केही भन्नु छ ? 
सफलताको पछाडि सबैको साथ हुन्छ । यसको जस मैले मात्र खाने होइन, मैले अस्ति पनि एउटा फेसबुकमा राखेको छु, आफै बोलेर । सफलताको जस मलाई दिईरहँदा म खुसी हौला, भावुक हुँला, ठूलो मान्छे बनुला त्यो पनि होइन । त्यसैले सफलताका लागि साथ सबै जनाको छ । सबै दर्शकहरु जसले टिकटकमा हाल्नुभयो, सामाजिक सञ्जालहरुमा हाल्दिनु भयो । माया गरिदिनुभयो, विजय गर्छ भनेर विश्वास गरिदिनुभयो, सबैले सम्मान दिनुभयो, त्यसकारण यी सब एकैपटक भएको कुरा होइन । देश–विदेश जहाँबाट हामीलाई हेरिदिनुभयो, माया दिनुभयो सम्पूर्ण दर्शकलाइृ धन्यवाद छ, फेरी पनि सधैभरी यसैगरी माया पाइराखौं । 

 

 

 

 
 

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।