ताजा अपडेट »

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

मंगलबार, ०४ मंसिर २०८१, ११ : ००
24 Shares
मंगलबार, ०४ मंसिर २०८१
24 Shares

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा. डा . हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।
 
कार्यक्रममा एकसिङ्गे गैँडाको मस्कट, पञ्चेबाजासहित टोलीका खेलाडीले जर्सी लगाएर सार्वजनिक गरेका थिए । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोज टिमको ‘थिम सङ’ पनि सोमबार सार्वजनिक गरेका छन् ।
 
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरले खेल र खेलाडीलाई सदैव प्रोत्साहन गर्ने बताए। दक्ष र क्षमतावान खेलाडी जन्माउन महानगरले खेलक्षेत्रमा लगानी बढाइरहेको उनको भनाइ थिए ।
 
उनले भने, “हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलाई गति दिइरहेका छौँ । यो रङ्गशाला निर्माण भएपछि दक्ष खेलाडी उत्पादन हुने क्रम अझै बढ्छ ।”
 
चितवन राइनोजका मार्की खेलाडी मल्लले खेल जित्ने उच्च मनोबलका साथ लागिरहेको बताए । चितवन राइनोज क्लबका अध्यक्ष न्यौपानेले टिमले क्षमतावान खेलाडीलाई समावेश गरेकाले खेल जित्ने दाबी गर्नुभयो ।
 
यो टिममा कुशल मल्ल, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । टिमले विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेका छन् ।
 
चितवनमा सन् १९९४ मा गठित चितवन राइनो क्रिकेट क्लबका तत्कालीन कप्तान मनिष सापकोटा र अन्य खेलाडीलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले त्यो समयमा खेल्ने गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।