ताजा अपडेट »
नियात्रा-२

पैतालाका डोबहरु खोज्दै नूनतेल पदमार्गमा

सोमबार, ०३ मंसिर २०८१, १३ : ५४
188 Shares
सोमबार, ०३ मंसिर २०८१
188 Shares

मरेकमा कोदोको तेल .......................। 
भोकले भुँडीसँग निहुँ खोजिरहेको थियो । हुन त हामीले टेमबहादुर बगालेको घर,सिस्नेखोलामा चियासँग मकै र दालमोट खाएका थियौं । सादा खाना, स्वादिष्ट थियो । होटलवाली साहुनीको जाँगरको बयान गरी साध्य छैन । चटनी ट्वाक्क थियो । त्यही मौकामा केही साथीले सितन त ट्वाक्क मिल्यो तर झोलिलो पदार्थ मिल्ने हो भने बाटो काट्न सजिलो हुने बताउँदै थिए । मैले साहुनीलाई कोदोको तेल पाइने भए,उपलब्ध गराउन अनुरोध गरें । नाम नखुलाउने सर्तमा दुई जना साथीहरुले कोदोको तेल गिलास एकका दरले घुटुक्कै पारे । 

मरेकबाट ओरालियौं । पुरानो पैदल हिड्ने बाटो भेट्न करिव आधाघण्टा जति लाग्यो । हामी ओरालिदै गर्दा पुराना बाटामा साथीहरुले आफ्ना बाउ, बाजेका पैतालाका डोबहरु कतै ढुंगामा कुँदिएका पो छन् कि भनेर खुब खोजे तर अवशेषहरु भेटेनन् । यसरी यात्रामा हामीहरुले पुर्खाहरुको पौरखका चर्चा गर्यौं । उनीहरुले घामपानी नभनेर सन्तानका सुखका निम्ति आफूहरुले पैताला खियाएर हिडेका अनुभव सुन्न कतिले पायौं, कतिले पाएनौं ? 

रानीबास आइपुग्दा न पहिलाका कुनै लज, होटल, किराना पसलका डोबहरु थिए । न कुनै मानिसका घरहरु । अत्यास लाग्दो बिग्रेको बाटो, एकोहोरो पानीको कलकल । सुनिएनन कुनै चराका चिरबिरहरु । न वल्लो न पल्लो रुखमा बाँदरहरु हाम फालेका थिए । अरु जन्तुहरुका आवाज पनि नसुनेपछि साथीहरुले यहाँबाट मान्छेहरुमात्र होइन, पशुपंक्षीहरु पनि बसाइँ सरे कि भने । त्यतिबेला हामी रानीबास सामुदायिक वनबाट सातपत्रे सामुदायिक वनतिर झर्दै थियौं । यो वन तिनाउको पहिलो सामुदायिक वन हो । बाटामा गौतबुद्ध जलविद्युतको विद्युत उत्पादन केन्द्र देख्यौं तर वर्षातमा ढलेको ठूलो साजको रुखले पानी ल्याउने पाइप नै टुटाई दिएको थियो । क्षतिका कारण विद्युत उत्पादन हुन नसकेको कुराले मनै चसक्क भयो । 

एक सय ११ वर्षे झोलुङ्गेपुल ......। 

old-brige
सालबास आएपछि साथीहरुले आफूलाई बिसाएर सुइँय गरे । मैलेभने मलाई पढाएका कुलबहादुर तुलाचन सरसँग भेटें । सर कोठामा मुडाजस्तै पल्टिएका थिए । पक्षघातका कारण उनी यतैबेला बिस्तारामा नै दिन काट्न थालेको पनि वर्षौ भयो । मैले बोलाएपछि उनी बोले । नाम भनेपछि उनले चिने । कुलबहादुर तुलाचन सरसँग पछि दोभान माविमा सँगै पढाएँ पनि । उनले नै मलाई कखरा चिनाएका हुन् भनेर मेरी आमाले भन्थिन् । कुलबहादुर सर बैंसमा झिल्के थिए । बेलीबटनवाला पाइन्ट लगाउथे । घरिघरि काइँयोले कपाल कोर्थे । तलब बुझेपछि उनको हाजिर फिल्म हलमा हुन्थ्यो । 

धेरैपछि उनलाई भेट्दा अतीतका कुराले मनै निरस बनायो । मनमा कुरा खेलाउँदै बोटेगाउँ झरियो । पूर्णप्रसाद श्रेष्ठ र सावित्रा थापासँग भेट भो । एकैछिन भलाकुसारी गरियो । नयाँबजार, उहिलेको लामाचौपारीमा आइपुग्दा साँझको ४ बज्दैथियो । त्यहीबाट दोभानका विष्णुप्रसाद पाण्डेयलाई फोन लगाएँ । उनी बुटवलतिर हुइँकिसकेका रहेछन् । हामीले, एकसय ११ वर्ष पुरानो दोभानखोलाको पुलमा सेल्फी फोटो झिलिक्क खिचियो । पुल तरेपछि पुलका बारेमा लेखिएको शिलापत्र हेरियो । मेटिएको रहेछ । गतिलोगरी पढ्न साथीहरुलाई मुस्किल पर्योे । 

जारकाटेको ढुंगामा टहल्दिा .......। 
स्थानीय एकबहादुर भण्डारी जारकाटे ढुंगामा आइपुग्दा हामी पनि ट्याक्कै त्यहीं पुगियो । उनले सो ढुंगाका बारेमा थाहा पाएका कुरा बताउँदै गर्दा सरिता र सीपीले भिडियो क्लिप लिन भुलेनन् । खास गरेर यो ढुंगाका बारेमा नूनतेल खेप्न आउने धेरैलाई थाहा थियो । राणाकालीन समयमा जारलाई जहाँ भेटे त्यही काट्न पाइने प्रावधान थियो । किंवदन्ती अनुसार एकजना लाहुरेकी बुढीलाई अर्को चाउरेले दौडाइ दिएछ । लाहुरेले त्यही ढुंगानिर आउँदा, आफ्नो चाउरे जारलाई भेटेपछि तरवारले घाँटी छिन्नेगरी ठुन्क्याई दिएछ । त्यति गर्दा नि रीस नमरेपछि उसले आफ्नो तरवार सोही ढुंगामा धसेछ । अहिलेपनि तरवार छिर्ने प्वाल दुस्तै छ । त्यसैले त्यो ढुंगाको नाम नै जारकाटे ढुंगा र गाउँको नाम नै जारकाटे थियो तर आज सो गाउँलाई गणेशटोल भनेर चिनिन्छ ।  प्राचीन उक्त ढुंगालाई संरक्षण गरेर राख्न सकेमा जार संस्कारका बारेमा बुझ्न र बुझाउन सजिलो हुने देखिन्छ । यस क्षेत्रका लागि यो ढुंगा प्राचीन एवम् पर्यटकीय ढुंगाका रुपमा विकास गर्न सके वर्षेनी यो ढुंगा हेर्न हजारौंका संख्यामा आन्तरिक एवम् बाह्य पर्यटक आएर यहाँको आर्थिक समृद्धिमा टेवा पुग्न सक्नेछ । 

खडेरीमा पानीका थोपाजस्तै.....................। 
दोभानको गणेशटोलबाट पैदल हामीलाई नुवाकोटडाँडामा पुग्न करिव दुईघण्टा लाग्यो । बाटामा पानी पिउँदै, थकाइ मार्दै र गाउँलेहरुसँग कुराकानी गर्दै हिड्दा खासै कठिन भएन तर नुवाकोटडाँडामा पुग्नै थाल्दा सास फुलेर फोक्सो त हातमै राखेर हिडुँमजस्तै लाग्यो । बाटोमा स्थानीय बेवरचिउरी गौंडा सामुदायिक वनकी सचिव हरिकला कुमालसँग भेट्यौं । उनले आफ्नो स्कुटीमा सरिता र माधव पौडेललाई पालैपालो डाँडासम्म पुराइ दिइन् । थाकेर लोत परेका उनीहरुलाई खडेरीमा पानीका थोपाजस्तै भयो हरिकलाको स्कुटी । उनको वन र आमा समूहले हामीलाई फूलको गुच्छा दिएर बिदाई गरे । हरिकला र अञ्जना विकले बिदाईका शब्द दिए र हात हल्लाए । कृष्ण पाण्डेयले फूल पाउँदा छाती फुल्लाए अनि केवलकारमा फूलका गुच्छालाई स्याहार गरेर घरमै लैजाने वचन दिए । 

ghumgham

अँध्यारोमा केवलकारभित्र हामी सातजना नूनतेल पदमार्गीहरु टुहुराजस्तै टुसुक्क बसेर ओरालियौं । बटौली दुलहीजस्तै सुन्दर देखिन्थ्यो । सीपीले घरिघरि फोटो खिच्थे मोबाईलबाट । सरिताले साहित्यिक शब्दहरु पोखिन । थुप्रैबेर कुरेर प्राप्त गरेको केवलकारमा सुइँकिन पाउँदा माधव नेपाल र राजेन्द्रसिंह गुरुङ दाइका सपनामा पिङ खेलेजस्तै भयो । उनीहरुका सपना साकार बनाउन नूनतेल पदमार्गलाई पछ्याउँदै नुवाकोट आई, केवलकार चढेर बटौली झर्दा खुसीले बुर्कुसी मारियो । सिद्धार्थ केवलकारको बुटवल स्टेशन सुन्दर र मनोरम लाग्यो । भव्य लाग्यो । साँझको बेला झिलीमिली देख्दा अनौठो पो लाग्यो । 

कृषिप्रधान देशमा कफीका कुरा.....। 
कति काङ्ग्रेस र कम्युनिष्टका कुरामात्र गर्ने बरु कफीका कुरा गरौं न भन्ने ‘गाउँको घर’का सञ्चालक समुन्द्र घिमिरेको शब्द सापटी मागेर बुटवलको ट्राफिकचोकमा कफी ग्रहण गरियो । छुट्टिने बेला सबैसँग हार्दिकतापूर्ण विदा लिएर माधव पौडेल र म ई–रेक्सामा सरररररररर जोगीकुटी आइयो । त्यतिबेला रातको साढेआठ बज्नै आँटेको थियो । नुवाकोट र मस्यामको हटियाजस्तो जाडो त थिएन तर यता चिसो बढ्दै थियो । 
 
नूनतेल पदमार्गको यात्रामा पदमार्गी बनेर हिड्न पाउनु पनि गर्वको विषय बन्यो । यात्रामा हामीले आफ्नै खर्च गरेका थियौं । गाउँलेहरुले दिएका चियालाई अमृत ठान्यौं । खुवाएका अचारलाई सर्वस्व मान्यौं । एकजना पदमार्गीले करिव ४४ हजार बढी पैताला उक्त क्षेत्रमा टेक्यौं । बाउ,बाजेले टेकेका भूमिलाई हामीले पुनःस्पर्श गर्ने अवसर जुरायौं । नूनतेल पदमार्गमा आफूलाई नौलो यात्रीका रुपमा चिनायौं । यात्रामा सहभागी अर्थराजनीतिका जानकार माधवकुमार पौडेल, पत्रकार सीपी खनाल, अध्येता कृष्ण पाण्डेय, घुम्ने कितावकी संयोजक सरिता श्रीस, पाठक मञ्चका दीलिप ज्ञवाली र हिमालय बुक हाउसका सञ्चालक र तिनाउ क्षेत्रमा मस्याम हटियासम्म पथप्रदर्शकको भूमिका निर्वाह गर्ने गाउँले मान्छे राजेश श्रेष्ठलाई समेत विशेष धन्यवाद् छ । 

सबैलाई सम्मान र धन्यवाद् ......। 
मस्याम एकीकृत क्याम्पसका क्याम्पस प्रमुख गोपाल श्रेष्ठ, जापानीज शिक्षाविज्ञ प्राडा, साकाई, गाउँको घरका सञ्चालक समुन्द्र घिमिरे, घरको अचारकी सञ्चालक गोमा भण्डारी, सामाजिक व्यक्तित्व लोकबहादुर गोदार, पाल्पा महिला कल्याण समूहकी अध्यक्ष सारदा श्रेष्ठ, सावुन र सरफ बनाउने दिदीबहिनीहरु, सिस्नेखोलाका टेमबहादुर बगाले,श्री आधारभूत विद्यालयका प्रअ हरि बगाले, मस्यामका कृषक खडक गोदार, जीप चालक कृष्ण भाइ र यात्रामा सहभागी हुन भनेर नाम टिपाएका तर काम विशेषले यात्रामा सहभागी हुन नपाएका साथीहरुप्रति आभारी छौं । यात्रामा एकले अर्कालाई चिन्न भ्यायौं । जान्न सक्यौं । इतिहास केलायौं । भूगोललाई छाम्यौं । भावनालाई ख्याल गर्यौं । पुराना पुस्ताप्रति सम्मानभाव प्रकट गर्यौं । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार