ताजा अपडेट »

रवि र छविलालविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी

आइतबार, ०२ मंसिर २०८१, २० : १७
136 Shares
आइतबार, ०२ मंसिर २०८१
136 Shares

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

कास्कीको पोखरास्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत अपचलन गरेको खुलेपछि आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं प्रहरीले पक्राउ पुर्जीका निम्ति जिल्ला अदालतबाट अनुमति मागेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि र छविविरुद्ध यसअघि रुपन्देही जिल्ला अदालतले समेत पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीपछि उनीहरू दुवैजनालाई कास्कीबाट रुपन्देही लगेर बयान लिइएको थियो ।

रुपन्देहीबाट गएको शुक्रबार रविलाई पुनः जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा फर्काएको छ । छविसँग भने दुई हप्ताअघि नै रुपन्देही प्रहरीले बयान लिएको थियो ।

ग्यालेक्सी टीभीमा पाँच सहकारीबाट रकम लगिएको खुलेपछि उनीहरू पक्राउ परेका हुन् । रवि ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक र छवि पूर्वसञ्चालक हुन् ।

ग्यालेक्सी टेलिभिजन तथा सहकारीका सञ्चालक ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई भने फरार छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।