ताजा अपडेट »
स्थानीय तह उपनिर्वाचन

रुकुम पूर्वमा कांग्रेस र एमालेको गठबन्धन, कांग्रेसको रुख चिन्हमा एमाले लड्ने

आइतबार, ०२ मंसिर २०८१, १६ : ५२
96 Shares
आइतबार, ०२ मंसिर २०८१
96 Shares

बुटवल । रुकुम पूर्वमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले मोर्चाबन्दी गरेका छन् ।

यसअघि ०७९ को निर्वाचनमा पनि केही स्थानमा सहकार्य गरेर माओवादीले यसअघि जितेका केही ठाउँमा सफलता पाएपछि अहिले दुवै दलले उपनिर्वाचनमा मोर्चाबन्दी गरेर अगाडि जाने सहमति गरेका हुन् । उनीहरुले मंसिर १६ गते हुन  लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुई दलको सहमतिअनुसार अगाडि जाने सम्झौतामा हस्ताक्षर गरेर सोही अनुसार अघि बढिएको बताए । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने सहमति गरेको बताए । तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् ।

यस्तै २ नं वडामा पनि कांग्रेस र एमालेबीचको सहमतिमा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदार बनाउने सहमति दुई दलबीच भएको छ । सहमति पत्रमा कांग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।

लुम्बिनीमा उपनिर्वाचनः तीन दलकै प्रतिस्पर्धा, रुकुम पूर्वमा कांग्रेस-एमालेको गठबन्धन !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।