ताजा अपडेट »

भैरहवाका व्यवसायीको गुनासो : लामो समयसम्म सडकमै ट्रक पार्किङले समस्या

आइतबार, ०२ मंसिर २०८१, १६ : २३
104 Shares
आइतबार, ०२ मंसिर २०८१
104 Shares

बुटवल । लामो समयसम्म सडकमै मालवहाक सवारी पार्किङ गरिँदा समस्या भएको भैरहवाका व्यवसायीले गुनासो गरेका छन् । विभिन्न सामग्री बोकेका ट्रक पार्किङले पर्यटक र स्थानीय सर्वसाधारणलाईसमेत समस्या भएको व्यवसायीको गुनासो छ ।

होटल सनस्टार प्रा.लि.लुम्बिनीरोड, भैरहवाका सञ्चालक राजेश महोत्राले कृषि सामग्री कम्पनी लिमिटेड (कार्यालय) मा आउने ट्रकहरु लामो समयसम्म सडकमै पार्किङ गरिदा समस्या भएको बताए । उनले भने, ‘समस्या समाधानका लागि सम्बन्धीत कार्यालयसँग पनि कुराकानी गरेका छौं, समाधान हुन्छ भन्ने जवाफ आयो, तर हालसम्म पनि समाधान हुन सकेको छैन ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवास्थित एसियन बुद्ध होटलका सञ्चालक तिलकराम घिमिरेले पनि लामो समयसम्म सडकमै ट्रक पार्किङ गरिदा सवारी दुर्घटनाको जोखिम बढेको बताए । ‘यसले आवातजावतमा समस्या भएको छ, केही हप्ता अगाडि हाम्रो होटलमा आएका पाहुनाको सवारीसाधन ट्रकमा ठोक्किएको थियो । धन्न ठूलो दुर्घटना हुन पाएन । त्यसले पार्किङको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’ पर्यटन प्रवर्द्धका लागि ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख तीर्थ न्यौपानेले भने व्यवसायीहरुले भनेको जस्तो समस्या नभएको दाबी गर्छन् । आफ्नो कार्यालयभित्र पनि २५÷३० वटा मालबहाक सवारी पार्किङ गर्न मिल्ने ठाउँ रहेका कारण समस्या नरहेको दाबी गरे । विशेषगरी मल ल्याउने समयमा धेरै सङ्ख्यामा ट्रक आउने भए पनि यो अवस्था कहिलेकाँही मात्रै हुने उनले बताए । ‘हामीकहाँ मल ल्याउने समयमा मात्रै मालबहाक सवारी (ट्रक)को सङ्ख्या धेरै हुने हो, त्यो पनि कहिलेकाँही मात्रै हुन्छ ।’–न्यौपानेले भने ‘हाम्रो कार्यलयभित्रै पार्किङ सुविधा भएका कारण सधै समस्या हुँदैन कहिलेकाँही भने ८०/९० वटा मालबहाक ट्रकहरु आउछन्, त्यति बेला सडकमा पार्किङ गर्नु परेपनि ठूलो समस्या भएको जस्तो लाग्दैन ।’

रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालयकी प्रहरी निरीक्षक रन्जु केसीले भैरहवामा पार्किङ व्यवस्थापनका लागि सबै पक्ष मिलेर पहल गर्नुको विकल्प नभएको उल्लेख गरिन् । विशेष गरी भन्सार कार्यालय अगाडि तथा कृषि सामग्री कम्पनी लिमिटेड अगाडि मालवहाक ट्रकहरु सडक छेउमा पार्किङ गर्नुपर्ने समस्या रहेको उल्लेख गरिन् । ‘भन्सार कार्यालयको आइसिटी नबन्दासम्म सडक छेउमै पार्किङ गर्नुपर्ने समस्या छ । यो समस्यालाई ट्राफिक प्रहरीले मात्रै केही गर्न सक्ने अवस्था छैन सर्बपक्षीय छलफलबाट मात्रै समस्याको समाधान हुन सक्ला ।’–केसीले भनिन् । कृषि समग्री लिमिटेमा समेत समय समय ठूलो सङ्ख्यामा मालबहाक सवारीहरु आउनेहुँदा पार्किङका लागि सडक छेउमा राख्नु पर्ने बाध्यता देखिएको उनले उल्लेख गरिन् । 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।