ताजा अपडेट »
नियात्रा-१

पैतलाका डोबहरु खोज्दै नूनतेल पदमार्गमा

आइतबार, ०२ मंसिर २०८१, १४ : २८
242 Shares
आइतबार, ०२ मंसिर २०८१
242 Shares

बुटवलको मिलनचोकबाट विहान ७ः३० जीपमा लोड भइयो । माधव पौडेल र म । सीपी खनाल, सरिता श्रीस, माधव गौतम, कृष्ण पाण्डेय र दीलिप ज्ञवालीहरु ट्राफिक चोकमा हामीलाई नै कुरेर बसेका थिए । यात्रामा सहभागी पत्रकार, लेखक, शिक्षक, व्यवसायी थिए । हामी पुग्नु थियो पाल्पा, तिनाउ गाउँपालिका वडा नं.६ को मस्याम हटिया । उहिलेको मस्याम हटियामा पुगेर नूनतेल बोक्नेहरुका कथा मस्याम हटियाका मानिसहरुबाटै सुन्नु थियो । नूनतेल खेप्ने हाम्रा बाजे, बराजुका पैतलाका डोबहरु खोज्नु थियो हामीले । माटोको माया र  सुगन्ध पत्ता लगाउनु थियो यात्रा  । उतिबेलाका नूनतेल खेप्नुको दुःख, पीडा सम्झिनु थियो हामीले आज । 

साकाइसँग साख्खै ......। 
मस्याम एकीकृत क्याम्पसका क्याम्पस प्रमुख गोपाल श्रेष्ठसँग उनकै क्याम्पसको छात्रवासमा भेट्यौं । उनको साथमा जापानीज शैक्षिक व्यक्तित्व थिए प्रा.डा.साकाइ । साकाई भूगर्भशास्त्री हुन् । उनले मस्याम, डुम्रेमा बसेर धेरै नेपाली विद्यार्थीलाई भूगर्भसम्बन्धी ज्ञान, शिक्षा दिएका छन् । यहाँको शैक्षिक विकासका लागि सक्दो सहयोग गरेका छन् । जापानबाट सहयोग जुटाएर यतै पठाइ दिएका छन् । क्याम्पस र स्कुलका भवन बनाइ दिएका छन् । शैक्षिक जागरण ल्याउनका लागि सक्दो पहल गरेका छन् । त्यसैले गतवर्ष उनलाई तिनाउ गाउँपालिकाले नागरिक सम्मान गरेको थियो । अभिनन्दित हुँदा उनी खुसीले पुलकित देखिन्थे । आफ्नो उचित सम्मान भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाल र जापानबीच शैक्षिक विकासको यात्रामा हातेमालो गर्ने कुरा उनले गरेका थिए । 

प्रा.डा. साकाईले मस्यामको शिक्षा र आफ्ना छोटा अनुभवहरु हामीहरुलाई बताए । उनीहरु भैरहवा विमानस्थल पुग्न हतारमा थिए । हामीहरु मस्यामतिर हुँइकिन । क्षणभरको कुराकानी गरेपछि प्राडा साकाइसँग साख्खै भएर छात्रवास अघि फोटो खिचायौं । फेरि भेट्ने वाचा पनि भयो । उनको उमेर ठ्याक्कै त थाहा भएन तर उनी नेरोघेरो ७० वर्षका हुनुपर्छ । 

युवा देशमा बस्दा नौलो विद्रोह .............।
मस्यामको झ्याङ्गला–देउरालीमा पुग्दा विहानको नौ बज्न लागेको थियो । साथीहरुलाई ‘गाउँको घर’ले झिलीमिली गरायो । त्यहाँ सजाइएका पुराना कुराहरुले सबैका मन खिचे । सञ्चालक समुन्द्र घिमिरेले आफ्ना अनुभवहरु सेयर गरे । उनले नेपालमा युवाहरु बस्नु एउटा नौलो विद्रोह रहेको बताउँदै गर्दा मेरो मनमा देशप्रतिको भाव थप उर्लिएर आयो । उनका उत्प्रेरक कुराहरु नयाँ पुस्ताका युवा तथा विद्यार्थीका लागि मननयोग्य छन् । उनी आफै पनि सुरुमा देश, विदेश भोगेर नेपाल फर्किएका हुन् भन्ने कुरा सरिता श्रीसबाट थाहा पाएको थिएँ । 

गाउँको घरलाई ‘इको फर्म हाउस’का रुपमा विकास गर्दै गएका रहेछन् । माटोको माया गर्ने उनलाई देख्दा मनभित्रैबाट उनीप्रति सम्मानभाव जागृत भयो । गाउँको घरमा युवाहरुलाई रोजगार दिएका छन् । आफू स्वरोजगारी बनेका छन् । करिव १० रोपनी जग्गामा फर्म सुरु गरेका छन् । सागसब्जी आफै उत्पादन गर्न थालेका छन् । गाउँको घरलाई प्रकृतिमैत्री बनाएका छन् । पुराना तर सम्झनलायक बस्तुहरुलाई सजाएर राखेका छन् । समुन्द्रको मन पनि समुन्द्रजस्तै फराकिलो लाग्यो । मधुर धूनसँगै खाजा खाँदा मनै शान्त भयो । कतै गुम्बा, स्तुपातिर गएजस्तै भान भो । 

dam

उनले आफ्नै लगानीमा नयाँ कन्सेप्टका साथ २० रोपनी जग्गामा सुरु गरेको ‘गाउँको घर’ वन, वातावरण र जैविक विविधता संरक्षणमा लाग्नेहरुका लागि कल्पना गरिएको स्वर्ग नै हो । यहाँ लेखिएका श्लोगन, मननीय विचारहरु र सजाइएका बस्तुहरुले मनमा ध्वनी तरङ्गित गराउँदछन् । आन्तरिक एवम् बाह्य पर्यटकहरुका लागि सम्भव त यो एउटा नयाँ र उत्कृष्ट पर्यापर्यटकीय गन्तव्य हुन सक्छ । 

नूनतेल मार्गका हामी आठ जना यात्रीले कोदो, फापरको रोटीसँगै रैथाने उत्पादनको खाजा खाँदा स्वाद बेजोड लाग्यो । माधव गौतमले हाम्रो गणित मिलाए । सबैजना विदा भएर कुटडाँडामा रहेको भण्डारी कागती फर्म र घरको अचार उद्यममा पुग्न हतारियौं । हिड्नेबेला हात हल्लाइयो विदाको । 

भुजासँग अचार मोलेर खाँदा................। 
गोमा भण्डारीले कागती खेती गरेर वर्षमा  १३ लाख बढी आम्दानी गर्छिन  । १६ रोपनी जग्गामा उनले कागती खेती गरेर छोराहरुलाई उच्चशिक्षा दिलाएकी छन् । श्रीमानलाई पनि आफ्नै बाटोमा हिडालेकी छन् । घरको अचार उद्यम खोलेकी छन् । कागती, तामा, आँप र तीते करेलाको अचार बनाएर बेचेकी छन् । उनको जाँगर देख्दा दुनियाँ दङ्ग पर्छन् । 

पत्रकार सीपी र सरिताले भिडियो खिचे गोमाको खेती र अचार उद्यमको । कुरा गरिन् मज्जाले गोमाले । भन्न पर्ने र सुनाउन पर्ने आफ्ना उद्यम र खेतीका बारेमा केही बाँकी राखिनन् । उनले बनाएका अचारसँग भुजा मोलेर खाँदाको स्वादिष्ट बयान कसरी गर्ने हो खोई ? दुइटै माधवले घरमा ल्याउन अचार खरिद गरे । गाउँमा बसेर मनग्य रकम कमाउन सक्ने गोमाले सामाजिक, राजनीतिक एवम् व्यवसायिक क्षेत्रमा गरेको प्रगति लोभ लाग्दो छ । 

नुहाउने साबुन : बढी फिंज तर सेन्ट कम ................।
हामी हटियामा पुगेपछि जीपले दरोगरी ब्रेक लगायो र हामी सबैलाई झरालो । साथीहरुले केशर कार्कीकहाँ खित्रिङमित्रिङ किने । यता सारदा श्रेष्ठ दिदीको पाल्पा कल्याण महिला समूहले सबैलाई टीका र फूलको गुच्छाले स्वागत गरे । आफनो समूहका बारेमा उनले जानकारी दिइन् । संस्थाले साबुन र सरफ उत्पादन गरेको रहेछ । हामी सबैले एक एकवटा नुहाउने साबुन किन्यौं । आजै बिहान नुहाएँ । जाती लाग्यो । साबुनको फिंज विपत्ता आउने तर सेन्टभने कम आउँदो रहेछ । थुप्रै घरेलु कुरा मिसाएर बनाइएको उक्त सावुनले बजार पाउनका लागि सेन्ट र प्याकेजिङ्गमा विशेष ख्याल राख्नुपर्ने देखिन्छ । दिदीबहिनीहरुले गरेको उद्यम उत्तम रहेछ । निरन्तर खट्न सकेभने आम्दानीको बाटो फराकिलो सम्भव छ । गाउँमा यस्तै उद्यम सबैले गर्न थालेमा आत्मनिर्भर गाउँ र गाउँलेहरु बन्ने छन् । 

गोदार बाका कुरै मीठा .....................। 
हटियामा नै भेटिएका थिए ७९ वर्षीय लोकबहादुर गोदार पनि । उनले आफ्नो जीवनका सबै समय यतै हटियामा बिताएको कुरा सुनाए । उतिबेला नूनतेल खेप्ने १७ जिल्लाको मुकाम नै मस्याम हटिया बजार रहेको सुन्दा हामी त दङ्ग परियो । सप्तगण्डकी वारिका लम्जुङ्ग, गोरखा, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ्गका मानिसहरु यही हटिया हुँदै सिस्नेखोला, मरेक, रानीबास, सालबास, बोटेगाउँ, जारकाटेबाट छोटी भन्सार नुवाकोट छिचोलेर बटौलीबजार झर्ने कुरा उनले बेलीबिस्तार लगाए । पहाडतिरबाट सुठो, अदुवा, घ्यू बोकेर पहाडिया ढाक्रेहरु बुटवल झर्थेभने उनीहरुले बटौली बजारबाट नून, मटिट्तेल, तमाखु, लत्ताकपडा किनेर नुवाकोटतिर उक्लिदै आआफ्ना गाउँतिर लाग्थे रे ! गोदार बाले भन्दैथिए–बटौलीबजारमा त जात्राजस्तै लाग्थ्यो बजार । जुलेबी खानेहरुको उस्तै भीड लाग्थ्यो । अतीत सुनाए । गोदार बाका कुरा नै जुलेवीजस्ता मीठा । 

bhatkeka-ghar

हटियामा बास बस्न लाहुरेहरु भरियासँगै आउँथे । खान्थे, मोज गर्थे । त्यो हटियालाई सम्झिदा आज बिरानो लाग्छ । सिद्धार्थ लोकमार्ग बनेपछि हटिया सुक्यो । आज ती कुरा सुनाउँदा पनि कसैलाई पत्यार लाग्दैन होला ! हामीले पनि हटियालाई उराठ र उदासजस्तै भेट्यौं । पुराना होटल, लज सञ्चालकहरु बुटवल, काठमाडौं र नारायणघाट तिर पैसा कमाएर सरेका कुरा गोदार बाले सुनाए । 

२०१४ सालमा खुलेको मस्याम माविको गेटमा फोटो खिचियो । मस्याममा रहेको दुईवटा धर्मशालाको काठ, दारहरुलाई विद्यालय बनाउन प्रयोग गरिएको गोदार बाले सुनाए । आज यो विद्यालयमा विद्यार्थी संख्या तुलनात्मक रुपमा कम हुँदै गएको छ । भवन बन्यो । दरवन्दी पूरै छ । छात्रबास बन्यो तर सोचेजति विद्यार्थी नहुँदा पिरलो रहेको उनले सुनाए । 

एक हजार दुई सय ४६ मीटर उचाइँमा रहेको मस्याम हटिया गाउँमा आज ब्राह्मण, क्षेत्री, मगर जातिको बसोबास रहेतापनि उतिबेला यहाँ नेवार जातिको बसोबास बाक्लै थियो । सदावहार चिसो हुने यो ठाउँमा सिस्नो राम्रै उम्रिन्छ । हटियामा पुरानो भैरम मन्दिर छ । मिलनसार मानिसहरु छन् । शिक्षित  र साक्षरताको संख्या उल्लेख्य छ । तिनाउको एकमात्र क्याम्पस पनि यही मस्यामको डुम्रे बजारमा छ । 

मस्यामको हटियामा स्वास्थ्य चौकी छ । पानीको सुविधा राम्रै छ । खेती किसानी गर्नेहरु धेरे छन् । सहकारीहरु छन् । आर्थिक गतिविधिको दर राम्रै छ । सुन्तला खेती पनि राम्रै हुन्छ । हिजोको हटियाजस्तो भीड आज छैन । बस्ती दुब्लाउँदै गएको छ । होटल, लजहरु छैनन् । खाजा खाने सानातिना नास्ता पसलहरु भने छन् । किराना पसलहरु त छन् तर किन्न आउने ग्राहकहरु पातलिएका छन् । 

गोदार बाले हामीलाई नूनतेल बोक्ने गोरेटो देखाइ दिए । त्यतिमात्र होइन, कतै बाटो बिराउँछन् कि भनेर तल बाटोसम्म छोड्न पनि आए । हामीले हुन्छ, अब हामी सक्छौं, बाटो भुल्दैनौं भनेपछि उनीसँग विदाबादी भयौं । उनको हार्दिकतालाई सम्झिदै हामी झर्यौ ओराली । 

सिस्नेखोला किनारै किनार...................।

niyatra-2 
तल सिस्नेखोला आउनु अघि पाका पुराना नेता जुद्धबहादुर थापासँग भेट भयौं । उनले एक हल गोरु चराउन हिडालेका थिए । गाउँका नेता गाउँमै रहनुको अर्थ साथीहरुले खोज्दै गर्दा हामी टेमबहादुर बगालेको ट्राउट माछा, बंगुर र कुखुरापालन बारेमा जानकारी लियौं । उनका भाइ हरिले चिया खुवाए । हामीले झलकमान गन्धर्वको ‘तानसेन घमाइलो’ गीत सुन्यौं र हिड्ने तरखर गयौं । खाना खान हामी त्यहाँबाट मरेक पुग्दा डेढ बजिसकेको थियो । बाटामा भत्केका घर, सिस्नेखोला, खोलेसाग र रमाइलो सिस्नेखोला गाउँ नै हरियो । गौतमबुद्ध जलविद्युत आयोजनाको ड्याम समेत हेरियो । 

सिस्नेखोलामा असला माछा पाइन्थ्यो । पानी विपत्तै चिसो । यतिबेला जलवायु परिवर्तनका कारण पानी पहिलेको तुलनामा चिसो छैन । असला माछा अहिले पनि नपाइने होइन तर पहिलेको तुलनामा कम पाइन्छ । सिस्नेखोलाको मुहान रिब्दिकोटको ताल पर्दछ । छोटो दूरीको यो खोलाको संरक्षण आजको आवश्यकता हो । हामी यही सिस्नेखोलाको किनारैकिनार मरेक गाउँ पुगेका थियौं । खोलामा कतै दुवाली थुनेको भेट्यौं । ‘माछा मार्ने दुवाली थुनेर’भन्ने गीतको याद आयो । 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार